maila bk

‘अझै रिस उठाएको भए तारैतार हिँडेर काठमाडौंसम्म आइदिन्थे’

National News News

The Mirror

माइला बिकले मनको बिरह पोखे, ‘मैले धर्ती नै छाड्न खोजेको हो, आफ्नै घाँटी रेट्न सकिएन, आँखामा परेको कसिंगर पनि आफैँ झिक्न सकिन्न, साथी चाहिन्छ’।

४२ वर्षीय माइला तिनै व्यक्ति हुन्, जसले शनिवार दिनभर नुवाकोटमा बिजुलीको तारमा बसेर सिंगो राज्यलाई नै हैरान बनाएका थिए। अहिले उनी नवजीवन परोपकार समाजको संरक्षणमा छन।

साँझ हेलिकप्टरसहित पुगेको नेपाली सेनाको विशेष टोलीले उद्धार गरेपछि प्रहरीले उनलाई त्यहाँ ल्याएर संस्थाको संरक्षणमा छाड्यो।

आइतवार दिउँसो भेट्न पुग्दा माइलाले मर्न सजिलो रहेन छ भन्ने निष्कर्ष सुनाए।

उनको भनाइ छ, ‘भाग्यमा छैन भने त यत्तिकै मर्न पनि पाइँदैन, अनि दिन आएपछि जान्नँ भन्न पाइँदैन, जानैपर्छ, पारिवारिक तनावले बिजुलीको पोलमा चढेको हुँ।

कसरी चढियो त बिजुलीको पोलमा ? प्रश्न भुइँमा खस्न नपाउँदै उनले ठट्यौली शैलीमा गम्भीर कुरा सुनाए ।

‘अब सिधै माथि जाने भनेर खम्बामा गएर पहिले ढोगें, हे ईश्वर, अब तिमी र म सँगै बस्ने ल भनेर विस्तारै माथि चढ्दैचढ्दै गएँ , माथि गएपछि त कोही माइल्दाइ भन्न थाले, कसैले ओइ काले तल झर भन्न थाले, मलाई रिस उठ्दै गएपछि ल आइज न त भनेर अझै माथि गएँ, जेहोस्, सप्लाइ भो, मनको चाहना सप्लाइ भो’।

माथि गइसकेपछि आफूलाई तल आउनै मन नलागेको उनले बताए। ‘ढोग्दा करेन्ट लागेन। यसो सोचें, यो खतरा करेन्ट भन्या छ, बीचतिर गएर बस्छु। त्यहाँ बस्यो भने कोही पनि आउँदैन भन्ने लाग्यो। सुइँसुइँ माथि गएँ, अझै करेन्ट लागेन। माथि गएपछि तल आउन मन लागेन’।

उनले थपे, ‘माथि उड्न सजिलो हुने रहेछ, तल गाह्रो, त्यहाँ त काँडाले पनि नघोच्ने, सुइँसुइँ लठ्ठा तान्यो, कस्तो मज्जा , आफूलाई अझै रिस उठाएको भए तारैतार हिँडेर काठमाडौं आइदिन्थें’।

उनको मानसिक स्वास्थ्य जाँचका लागि सोमवार पाटनस्थित मानसिक अस्पतालमा उनलाई लगियो।

[ref-nayasamachar]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *