Prachanda

‘असुरक्षित महसुस भएपछी प्रचण्डले चितवन छाड्न सक्ने’

National News News

The Mirror

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति मंसिर ४ तोकिए सँगै उम्मेदवारी घोषणाको क्रम पनि सुरु भएको छ। यसै क्रममा प्रमुख दलका शीर्ष नेताहरुले कहाँबाट उम्मेदवारी देलान् ? भन्ने आम चासोसमेत बढेको छ।

खुला राजनीतिमा आएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक पटक निर्वाचन क्षेत्र फेरेका छन्। २०६४ को संविधानसभा चुनावमा रोल्पा र काठमाडौं १० दुबै क्षेत्रबाट उनले चुनाव जितेका थिए।

दोस्रो संविधानसभा–२०७० मा रोल्पा गएनन्। काठमाडौं १० मा पराजित भएका उनी सिराहा ५ मा निर्वाचित भएर सांसद बने। २०७४ मा भने एमालेसँग वाम गठबन्धन गरेका प्रचण्ड चितवन ३ बाट निर्वाचित भए तर पछिल्लो ५ वर्षमा प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रमा जति बजेट खन्याएका छन्, त्यहाँको राजनीति पनि त्यति नै गिजोलेका छन।

स्थानीय चुनाव–२०७४ मा नेपाली कांग्रेससँग तालमेल गरेर छोरी रेनुलाई भरतपुर महानगरको मेयर बनाएका प्रचण्ड प्रतिनिधिसभा चुनाव २०७४ मा एमालेसँग तालमेल गर्न पुगे। यो पटक स्थानीय चुनावमा फेरि कांग्रेस र माओवादी एक ठाउँमा आयो।

अहिले प्रचण्ड कांग्रेससँगै गठबन्धन गरेर प्रतिनिधिसभा चुनाव लड्ने पक्षमा छन तर कांग्रेसको भोट पाएर फेरि सांसद निर्वाचित हुन प्रचण्डलाई सहज नभएको माओवादी नेताहरु नै स्वीकार गर्छन्।

माओवादी बलियो मानिएको बर्दिया, प्रचण्डको पुर्ख्यौली थलो कास्कीलाई प्रचण्डको सम्भावित निर्वाचन क्षेत्र समेत मान्ने गरिएको छ तर गोरखाका नेताहरुले भने प्रचण्डले क्षेत्र नम्बर १ बाट चुनाव लड्न औपचारिक रुपमै प्रस्ताव गरेका छन।

गण्डकी गाउँपालिकाको अध्यक्ष दीपक तिमल्सिनाले ५ साउनमा प्रचण्डलाई भेटेर गोरखा १ बाट उम्मेदवारी दिन प्रस्ताव गरे।

गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हरि अधिकारीलाई लिएर खुमलटार पुगेका तिमल्सिना भन्छन्, ‘मैले अनुरोध गरेको हुँ। उहाँ आउँदा जिल्लामा विकासको आधार बन्छ’।

माओवादी नेता समेत रहेका तिमल्सिनाले भने, ‘देशको मध्यभाग, हिजो जनयुद्धमा त्याग गरेको क्षेत्र पनि हो, यस पटक स्थानीय तह निर्वाचनमा पहिचान राख्न पनि सफल भएको हो’। ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गोरखाका ११ स्थानीय तहमध्ये ९ वटाको नेतृत्व माओवादीले जितेको थियो ।

माओवादीका पूर्वनेता डा. बाबुराम भट्टराईको घर गोरखाको क्षेत्र नम्बर २ मा पर्छ। उनी २०७४ सालमा गोरखा क्षेत्र नम्बर २ बाटै निर्वाचित भएका थिए। माओवादी केन्द्रका अर्का नेता नारायणकाजी श्रेष्ठको घर पनि गोरखा क्षेत्र नम्बर २ मा नै पर्छ।

गोरखा क्षेत्र नम्बर १ बाट २०५६ सालसम्म नेपाली कांग्रेसका नेता चिरञ्जीवी वाग्ले निर्वाचित हुँदै आएका थिए। २०६४ सालमा माओवादी केन्द्रकी पार्वती थापा र २०७० मा डा. बाबुराम भट्टराई निर्वाचित भए। नयाँ संविधान बनेपछि गोरखामा जम्मा २ वटा क्षेत्र बन्यो र २०७४ को चुनावमा क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका हरि अधिकारी निर्वाचित भएका थिए ।

हाल सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य रहेका अधिकारी प्रचण्ड आए आफू धेरै खुशी हुने बताउँछन। गोरखा क्षेत्र नम्बर १ सँग प्रचण्डको भावनात्मक सम्बन्ध रहेको पनि अधिकारीले बताए।

प्रचण्डले यो निर्वाचन क्षेत्रमा पर्ने आरुघाटस्थित भीमोदय माध्यमिक विद्यालयमा २०३३ सालमा शिक्षकको रुपमा काम गरेका थिए । गोरखा क्षेत्र नम्बर १ मा माओवादीको जनमत राम्रो भएको मानिन्छ । यो क्षेत्रमा पर्ने ७ स्थानीय तहमध्ये ६ वटाको नेतृत्व माओवादी केन्द्रले नेतृत्व जितेको छ।

चितवनका कांग्रेसले भोट नदिने थाहा पाएपछि प्रचण्डले गोरखा, सिन्धुली, रोल्पा वा काठमाडौँ मध्ये एकबाट चुनाव लड्न सक्ने सम्भाबना छ।

[ref-anjulionline]

अन्तमा यो पनि पढ्नुहोस….

Leave a Reply

Your email address will not be published. Required fields are marked *