uml and congress

आधार क्षेत्र मोरङमा कांग्रेसलाई ठूलो धक्का, एमालेलाई ठुलो सफलता

National News News

The Mirror

नेपाली कांग्रेसले यो स्थानीय चुनावका लागि मोरङका धेरै ठाउँमा अरू दलहरूसँग गठबन्धन गर्न चाहेन।

कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले स्थानीय चुनावअघि भनेका थिए, ‘मोरङमा कांग्रेसले कसैसँग गठबन्धन गर्न जरुरी छैन, हामी एक्लै बलियो छौं’,त्यसैले जिल्लामा गठबन्धन नहुन सक्छ’।

कांग्रेसमा सबैभन्दा शक्तिशाली मानिने कोइराला परिवारको मुख्य आधार क्षेत्रमा तिनै कोइराला परिवारले रुचाएका सभापति लिम्बूले भने जस्तै मोरङका धेरै स्थानीय तहमा चुनावी तालमेल भएन तर अहिले चुनावी नतिजा धमाधम सार्वजनिक हुँदा कांग्रेस उसले दाबी गरेजस्तो बलियो अवस्थामा देखिएन।

चुनावको नतिजा आउँदै गर्दा मोरङ कांग्रेस वृत्तमा यो अनभूति भएको छ। जिल्ला सभापति लिम्बूको फेरिएको बोलीले पनि त्यसको संकेत गर्छ।

लिम्बूले भने, ‘आन्तरिक व्यवस्थापन पनि गर्न सकिएन, गठबन्धन पनि व्यवस्थित गर्न सकिएन। यसले नतिजा खस्कियो, सभापति लिम्बूले खस्किएको भनेर चित्त बुझाउन खोजे पनि मोरङमा कांग्रेसलाई गम्भीर धक्का लागेको छ।

कांग्रेसका ‘हेभिवेट’ नेताहरु शेखर कोइराला, मिनेन्द्र रिजाल, महेश आचार्य, सुजाता कोइराला, डिला संग्रौलाको गृहजिल्लामै कांग्रेसले यसपटक कमजोर नतिजा ल्याउने प्रष्ट संकेत देखिएको छ।

विराटनगर महानगरसहित जम्मा १७ स्थानीय तह रहेको मोरङमा २०७४ को चुनावमा कांग्रेसले ९ स्थानीय तह जितेको थियो। पछि विजयकुमार गच्छदार कांग्रेसमा मिलेपछि त्यो संख्या थपिएर १० भयो। माओवादीले एउटा र एमाले ले पाँच वटा जितेको थियो। पार्टी विभाजन भएको अवस्थामा पनि एमालेले कांग्रेसको प्रमुख आधार जिल्ला मोरङमा उल्लेख्य जीत हासिल गरेको छ।

अहिलेसम्म मोरङको सुनवर्षी र लेटाङ नगरपालिकासहित सात स्थानीय तहको नतिजा आइसकेको छ। त्यसमध्ये चार वटामा एमालेले जितिसकेको छ। गणना जारी रहेका अरु पाँच पालिकामा एमाले उम्मेदवारहरु अग्रतामा छन्। जसमध्ये सुनवर्षीमा एमालेले जितेको छ। त्यो यसअघि कांग्रेसले जितेको थियो।

२०७४ मा एमालेले जितेको बेलबारी नगरमा अहिले उही अगाडि छ। एमालेले नै जितेको पथरी शनिश्चरे नगरमा पनि एमाले नै अघि छ। यसअघि जितेको मिक्लाजुङ चाहिँ एमालेले गुमाएको छ। मिक्लाजुङमा माओवादी कांग्रेस गठबन्धन थियो।

यसअघि माओवादीले जितेको रंगेली पनि एमाले नै अघि छ। जसपाले जितेको जहदामा कांग्रेसले जितेको छ। ग्रामथान जितेको एमाले यसपालि पछि छ। २०७४ मा उर्लाबारी हारेको एमाले त्यहाँ पनि अगाडि नै छ।

यसअघि कांग्रेसले जितेको धनपालथानमा पनि एमाले नै अघि छ। सत्ता गठबन्धनका सहयात्री दलका नेताहरु कांग्रेसको अनावश्यक घमण्डले मोरङमा अपेक्षाकृत नतिजा नआएको बताउँछन्।

माओवादी नेता कुशल लिम्बूले भने, ‘गठबन्धन गरौं भन्दा कांग्रेसले पटक्कै चासो दिएन, ठूलो दम्भ देखायो तर अहिले परिणाम उसले भने जस्तो आएन, जहाँ गठबन्धन भयो त्यहाँ राम्रो नतिजा आयो’।

कांग्रेस रतुवामाई नगरमा मात्रै अघि छ, विराटनगरमा गठबन्धनको बलमा अगाडि छ बुढीगंगा गाउँपालिकामा कांग्रेस अघि छ’।

कांग्रेसकै बलियो पकड रहेको ठानिने केराबारी गाउँपालिका अध्यक्षमा एमालेका सुमन मिरिङचिङ मगर र उपाध्यक्षमा एमालेकी मनमाया मगर निर्वाचित भएका छन्। सुमनले कांग्रेसबाट निर्वाचित निवर्तमान गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीलाई पराजित गरेका हुन्।

२०७४ मोरङमा जम्मा पाँच पालिका जितेको एमालेले यसपटक त्यसमा उल्लेख्य सुधार गर्ने निश्चित भएको छ। सुनवर्षी, लेटाङ नगर कांग्रेसबाट खोसेको एमालेले केराबारी गाउँ खोसेको छ भने कानेपोखरीमा सफलता दोहोर्याएको छ। एमाले नेताहरुले यसलाई आफ्नो सफलताको रुपमा अर्थ्याइरहेका छन्।

[ref-setopati]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *