ATM

‘आफ्नै पैसा झिक्न नपाए पछि बैंकमा आक्रमण र तोडफोड’

National News News

The Mirror

कल्पना गर्नुहोस यदि तपाईले आफ्नो पैसा बैंकबाट निकाल्न जानु भयो। तर झिक्न सक्नु भएन भने के गर्नुहुन्छ। यस्तै भएको छ लेबनानमा।

लेबननको राजधानी बेरुतमा आफूले बचत गरेको पैसा निकाल्न नपाएको झोकमा छ घण्टा बैंकलाई बन्धक बनाएका एक बन्दुकधारीलाई त्यहाँका नागरिकहरूले नायक भनेर प्रशंसा गरेका छन।

गम्भीर आर्थिक सङ्कटका कारण लेबननका बैंकहरूले बचतकर्ताहरूलाई कतिसम्म पैसा झिक्न दिने भन्ने कडा नियम लागु गराएका छन्।

ती बन्दुकधारी राइफल बोकेर बैंकमा छिरेर पेट्रोल छर्कँदै अस्पताललाई बक्यौता तिर्नका निम्ति चाहिएकाले आफ्नै पैसा फिर्ता माग गरेका थिए।

वार्ताकारहरूले बन्दुकधारीलाई आफ्नो खाताबाट ३५,००० अमेरिकी डलर झिक्न दिने सहमति गरेपछि कुनै अप्रिय घटनाविना नै उक्त प्रकरण टुङ्गिएको जनाईएको छ।

प्रहरीले हमरा स्ट्रीटस्थित फेडरल बैंकको शाखाबाट बन्धकहरू र बन्दुकधारीलाई बाहिर लगेको थियो। अधिकारीहरूले ती व्यक्तिलाई कुनै अपराधको आरोप लगाइने वा नलगाइने भन्ने बारे केही भनेका छैनन्।

परिवारका केही सदस्यहरू अस्पतालमा भएका कारण बन्दुकधारीको परिवारलाई पैसाको अत्यन्त आवश्यकता थियो।

बन्दुकधारीका भाइले प्रहरीलाई भने: ‘मेरो दाइको बैंक खातामा २१०,००० डलर छ र उहाँलाई अस्पतालको बिल तिर्न ५,५०० मात्रै चाहिएको थियो’।

बैंक बाहिर रहेका बन्दुकधारीका भाइ र श्रीमतीले आफ्नो अधिकारको पैसा निकाल्न सबैले त्यस्तै गर्नुपर्ने बताए।

वरपर जम्मा भएका मानिसहरुले बैंकबाहिर जम्मा भएर “तिमी नायक हौ” भनेर नारा लगाएका थिए।

सन् २०१९ देखि लेबननमा ब्याङ्क खाताबाट निकाल्न सकिने रकमको विषयमा लागु गरिएको कडा नियमले ठूलो जनआक्रोश छ। त्यहाँ विदेश पैसा पठाउन पनि प्रतिबन्धात्मक व्यवस्था छ।

लेबनन ठूलो आर्थिक सङ्कटबाट गुज्रिरहेको छ र यसको असरले दैनिक जीवन धान्ने खर्च ह्वात्तै बढेको छ।

बैंकबाहिर जम्मा भएका मानिसहरूले बैंकका नियमविरुद्ध पनि नारा लगाएका थिए।

गत जनवरीमा एक अर्को घटनामा बेका उपत्यकाको बैंकका दर्जनौँ कर्मचारीलाई बन्धक बनाएर एक व्यक्तिले आफ्नो पैसा अमेरिकी डलरमा साट्न पाउनु पर्ने माग गरेका थिए।

लेबननको मुद्रा सङ्कट सुरु भएयता ९० प्रतिशत अवमूल्यन भएको छ र संयुक्त राष्ट्रसङ्घका अनुसार त्यहाँ ८० प्रतिशत जनसङ्ख्या गरिबीमा रहेका छन्।[यो समाचार मा छापिएको छ]

अन्तमा यो पनि पढ्नुहोस….

Leave a Reply

Your email address will not be published. Required fields are marked *