UML

‘एमालेको आन्तरिक रिपोर्ट, ३२ सिटमा मात्र जित, काठमाडौंमा एउटा मात्रै’

National News News

The Mirror

अघिल्लो प्रतिनिधि सभा चुनावमा वाम गठबन्धन गरेर ८० सिट जितेर सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले आसन्न चुनावमा ३२ ठाउँ मात्रै जित्न सकिने प्रारम्भिक आकलन गरेको छ।

जसमध्येका १० वटा निर्वाच क्षेत्रमा सहज जीत हुने आँकलन छ भने ३२ बाहेक थप ४ वटा निर्वाचन क्षेत्रलाई एमालेले संभावित जित भएका क्षेत्र मानेको छ।

एमालेले स्थानीय तह निर्वाचनमा प्राप्त परिणाम, पालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षले प्राप्त गरेको मतलाई आधार मानेर यो हिसाब निकालेको हो।

उपमहासचिव विष्णु रिमाल प्रमुख रहेको निर्वाचन विभागले गरेको प्रारम्भिक अध्ययन अनुसार काठमाडौं जिल्लामा क्षेत्र नम्बर–५ बाहेक अरु कुनै पनि क्षेत्रमा एमाले विजयी हुने छैन।

गत ०७४ को आम चुनावमा काठमाडौं ५ मा विजयी ईश्वर पोखरेल एमालेका वरिष्ठ उपाध्यक्ष छन्।

एमालेका एक पदाधिकारीले भने, ‘तल तलको तथ्याङ्क लिन अझै बाँकी छ, अहिलेसम्मको हाम्रो अध्ययन अनुसार एक्लै प्रतिष्पर्धा गर्दा ३० को हाराहारीमा चुनाव जितिन्छ भन्ने छ’।

सहज जीत हुने १० क्षेत्र

३२ ठाउँमा जितको हिसाब निकालेको एमालेले पाँचदलीय गठबन्धनबिरुद्ध एक्लै लड्दा १० सिटमा मात्रै सहज जित हुने हिसाब तयार पारेको छ।

एमालेको आन्तरिक आकलन अनुसार काठमाडौं–५ मा एमालेको १९ हजार ७ सय ३ र पाँच दलीय गठबन्धनको १७ हजार ९ सय ६ मत छ। त्यसैले गठबन्धन बिरुद्ध एमालेले १,७९७ मतले जित्न सक्ने उसको आन्तरिक रिपोर्टमा छ।

अघिल्लो निर्वाचनमा एमालेले काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ६ वटामा जित हासिल गरेको थियो। ६ मध्ये २ जना सांसद माधवकुमार नेपाल र जीवनराम श्रेष्ठले एमाले विभाजन गरेर नयाँ दल एकीकृत नेकपा समाजवादी गठन गरेका छन।

गठबन्धनसँग जम्मा ११ मतअन्तर रहेको चितवन २ लाई पनि एमालेले सजिलै जित निकाल्न सकिने निर्वाचन क्षेत्रका रुपमा राखेको छ।

चितवन २ मा अघिल्लो निर्वाचनमा कृष्णभक्त पोखरेल विजयी भएका थिए। स्थानीय तहको मत परिणामअनुसार चितवन २ मा एमालेको ३५ हजार ५ सय ४३ र गठबन्धनको ३५ हजार ५ सय ३२ मत छ।

यस्तै एमालेले सहज जित देखेका क्षेत्र हुन् झापा–१, झापा–२ र झापा–५ । झापा १ मा यसअघि बाम गठबन्धनका तर्फबाट राम कार्की विजयी भएका थिए। स्थानीय तह निर्वाचनको परिणामअनुसार झापा १ मा एमालेको ३१ हजार २ सय ३२ मत छ भने पाँचदलीय गठबन्धनको मत २९ हजार २ सय १६ आएको छ। यो हिसाबले एमाले गठबन्धनभन्दा २ हजार १६ मतले अगाडि छ।

यस्तै झापा–२ मा एमाले गठबन्धन भन्दा ६०८ मतले मात्रै अगाडि छ। यो निर्वाचन क्षेत्रमा ०७४ मा एमालेकै पवित्रा खरेल निरौला बिजयी भएकी थिइन। एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ मा चाहिँ एमालेले सहज जित देखेको छ। यो क्षेत्रमा एमाले गठबन्धन भन्दा ६ हजार ८ सय २१ मतले अगाडि छ।

महासचिव शंकर पोखरेलको निर्वाचन क्षेत्र रहेको दाङ–२, रुपन्देही १ र पाल्पा २ लाई भने जित्ने संभावना रहेको तर जित निश्चित भइनसकेको भनिएको छ।

स्थानीय तहको मत परिणमाअनुसार एमाले नवलपुर–२ र पर्वतमा सुरक्षित छ। नवलपुरमा एमाले गठबन्धनभन्दा ९ सय २० र पर्वतमा ४ सय ६५ मतले अगाडि छ । यी क्षेत्रमा गत ०७४ को निर्वाचनमा पनि एमालेले नै जितेका थिए। पाल्पा–१, मनाङ र मुस्ताङमा पनि एमालेको मत बढी छ।

विष्णु पौडेलले जित्ने, शंकर पोखरेललाई हम्मे

आन्तरिक रिपोर्टअनुसार एमालेले गण्डकी प्रदेशमा आफूलाई सबैभन्दा बलियो मानेको छ । उसले सबभन्दा कमजोर उपस्थिति सुदूरपश्चिम र कर्णाली प्रदेशमा देखेको छ।

सुदुरपश्चिममा दार्चुला र बाजुरामा उसको पक्षमा परिणाम आउने एमालेको विश्लेषण छ भने कैलाली ५ मा जितको संभावना देखेको छ।

अघिल्लो निर्वाचनमा कैलाली ५ मा एमालेका नारदमुनि रानाले कांग्रेसका आरजु राणा देउवालाई पराजित गरेका थिए। यस्तै कर्णालीमा दैलेख–२ र सुर्खेत–२ मा मात्रै एमाले विजयी हुने उसको आन्तरिक आकलन छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा टोपबहादुर रायमाझी विजयी हुनेमा एमाले ढुक्क छ। यस्तै कपिलवस्तु–२ मा नवप्रवेशी बृजेशकुमार गुप्तलाई टिकट दिए उनले जित्ने हिसाब निकालेको एमालेले पाल्पा–१, गुल्मी–२ र रुपन्देही–२ मा जित निकाल्न सकिने हिसाब निकोलेको छ। पाल्पा १ मा यसअघि एमालेकै दलबहादुर राना, गुल्मी–२ मा गोकर्ण विष्ट र रुपन्देही–२ मा विष्णु पौडेलले चुनाव जितेका थिए।

महासचिव शंकर पोखरेलको निर्वाचन क्षेत्र रहेको दाङ–२, रुपन्देही १ र पाल्पा २ लाई भने जित्ने संभावना रहेको तर जित निश्चित भइनसकेको भनिएको छ। वागमतीमा एमालेले काठमाडौं–५, महेश बस्नेतको निर्वाचन क्षेत्र रहेको भक्तपुर–२, शेरबहादुर तामाङको क्षेत्र सिन्धुपाल्चोक–२, चितवन २ र मकवानपुर १ लाई जित्न सकिने क्षेत्रको सूचीमा राखेको छ।

यही गठबन्धन बिरुद्ध लड्न परे मधेशलाई प्राथमिकता दिएको एमालेको पक्षमा यसपालिको निर्वाचनको परिणाम पनि आउन नसक्ने आकलन एमालेको छ।

एमालेको हिसाब अनुसार प्रभु साह उम्मेदवार बनेमा रौतटह–३, रघुवीर महासेठको निर्वाचन क्षेत्र धनुषा–४, र लिला श्रेष्ठको निर्वाचन क्षेत्र सिरहा–३ लाई आउँदो निर्वाचनका लागि सुरक्षित क्षेत्रको सूचिमा सूचिकृत गरेको छ।

एमालेले प्रदेश १ का ८ वटा निर्वाचन क्षेत्रमा जित्न सकिने प्रारम्भिक तथ्यांक तयार पारेको छ। उसको तथ्यांक अनुसार सुनसरी–१, मोरङ–२, मोरङ–३, झापा–१, झापा–२, झापा –५, इलाम–२ र ताप्लेजुङमा जित निकाल्न सकिने एमालेको हिसाब छ।

तर सबै कुरा चुनाब पछि मात्र स्पस्ट हुनेछ।[यो समाचार sachokhabar मा छापिएको छ]

अन्तमा यो पनि पढ्नुहोस….

Leave a Reply

Your email address will not be published. Required fields are marked *