prachanda

‘कांग्रेस धोकेबाज, बेईमानी र अबसरबादी’

National News News

The Mirror

सत्ता गठबन्धनको एक घटक नेकपा माओवादिले सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसमाथि धोकेबाज, बेईमानी, अबसरबादी र गठबन्धन प्रति गम्भीर नभएको कडा आरोप लगाएको छ।

माओवादीको आइतबार काठमाडौंमा बसेको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको संक्षिप्त राजनीतिक प्रतिवेदनमा सो कुरा उल्लेख छ।

स्थानीय तह निर्वाचनमा कांग्रेसले कतिपय स्थानमा माओवादीलाई हराउन अन्य दलसँग गठबन्धन गरेको कारण उक्त गम्भीर आरोप लगाइएको हो।

प्रतिवेदनमा लेखिएको छ, ‘नेपाली कांग्रेसको पूरै पंक्ति गठबन्धनप्रति इमानदार र गम्भीर पाइएन, जसको परिणाम रोल्पा, रुकुम, सल्यान, कालिकोट, भोजपुर, गोरखा र सिन्धुपाल्चोकलगायत जिल्ला र हाम्रो पार्टीको बलियो उपस्थिति रहेका कैयौं स्थानमा हामीविरुद्ध एमालेसहित अन्य दलसँग गठबन्धन गरी हामीलाई पराजित गर्ने वा कमजोर पार्ने घटनाहरू व्यापक रूपमा देखिए’।

माओवादीले स्थानीय निर्वाचनमा कांग्रेसले आफू बलियो भएको स्थानमा अन्य दलको गठबन्धन बन्न नदिने तथा माओवादी र अन्य दल बलियो भएका ठाउँमा एमाले वा अन्य दलसँग तालमेल गरेको आरोप लगाएको छ।

आफू कमजोर भएका ठाउँमा पाँचदलीय गठबन्धन कायम गर्ने र कतिपय स्थानमा गठबन्धनविरुद्ध बागी उम्मेदवार खडा गर्नेजस्ता अघोषित नीति अपनाएको माओवादीको आरोप छ। कांग्रेसले गठबन्धनका उम्मेदवारलाई मत नदिने वा आफ्ना उम्मेदवारलाई मात्र जिताउन खोज्दा धेरै मत बदर भएको माओवादी दाबी छ।

नेकपा एसले ठूलो भाग खोज्यो

अध्यक्ष प्रचण्डले केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा स्थानीय निर्वाचनमा सत्ता गठबन्धनको अर्काे दल नेकपा एकीकृत समाजवादीले पनि आफ्नो हैसियतभन्दा ठूलो भाग खोजेको आरोप लगाइएको छ।

नेकपा एसले हैसियतभन्दा बढी दाबी गर्दा विभिन्न ठाउँमा सिट बाँडफाँटमा समस्या भएको बताईएको छ। यसैकारण कतिपय स्थानमा गठबन्धनका उम्मेदवार नै पराजित हुनुपरेको माओवादी केन्द्रको निष्कर्ष छ।

नेकपा एस आफ्नो आधार बलियो भएका तराईमधेसका स्थानमा गठबन्धनका लागि अनिच्छुक भएको प्रतिवेदनमा उल्लेख छ। राजनीतिक प्रतिवेदनमा अध्यक्ष दाहालले राष्ट्रिय राजनीति विशिष्ट अवस्थामा रहेको, प्रतिगमनकारी षड्यन्त्र, चलेखेल अझै पनि जारी रहेको र आन्तरिक राजनीतिमा बाह्य शक्तिको दबाब निरन्तर बढेको निष्कर्ष निकालेका छन्।

[ref-nagarik]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *