The Mirror
एएफसी एसियन कप २०२३ को छनोट खेलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। गएराति भएको खेलमा नेपाल कुवेतसँग ४-१ गोल अन्तरले पराजित भयो।
पहिलो खेलमा नेपाल जोर्डनसँग २-० गोल अन्तरले पराजित भएको थियो।
घरेलु टोली कुवेतलाई सानदार जित दिलाउनको लागि युसुफ नास्सेरले दुई गोल गरे भने फहद अलरेसिदी र मोवारक अल फानेनीले समान एक-एक गोल गरे। नेपालका लागि दर्शन गुरुङले मात्र एक गोल फर्काए।
२८औं मिनेटमा फहद अलरेसिदी गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थिए। ४८औं मिनेटमा युसुफ नास्सेरले गोल गर्दै कुवेतको अग्रता दोब्बर पारे। ६८औं मिनेटमा युसुफ नास्सेरले व्यक्तिगत दोस्रो गोल गर्दै कुवेतलाई ३-० ले अघि बढाए ।
७३औं मिनेटमा मोवारक अल फानेनीले गोल गर्दा कुवेतको अग्रता ४-० बन्यो। त्यसपछि इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा दर्शनले गोल गर्दा नेपालले एक गोल फर्कायो।
कुवेतको दुई खेलबाट ३ अंक पुगेको छ। नेपालले अंकको खाता खोल्न सकेको छैन। यो समूहमा जोर्डन र इन्डोनेसियाको पनि समान ३ अंक नै छ।
यसैबीच नेपाल र कुवेतको खेल भइरहँदा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने बेहोस भएका थिए। उनी दोस्रो हाफको सुरुवाती समयमै अचेत भएर ढलेका थिए। त्यहाँ सामान्य उपचारपछि उनलाई अस्पताल लगिएको हो।
उनलाई फारवानिया अस्पताल लगिएको थियो। स्वास्थ्य अवस्था सामान्य रहेकाले उनी अहिले डिस्चार्ज भइसकेका छन।
[ref-news24]
अन्तमा यो पनि…