The Mirror
सत्ता-गठबन्धन नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले अब गठबन्धनको डम्फू मात्रै बजाएर बस्न नसकिने बताएका छन।
आगामी मंसीर पहिलो साता आम निर्वाचनको घोषणा हुने भन्दै अध्यक्ष नेपालले कांग्रेस प्रति इंकित गर्दै यस्तो बताएका हुन्।
पार्टी निकट नेपाल तामाङ संघ समाजवादीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गठबन्धनको डम्फू बजाउने काम छोडेर पार्टीको संगठन सदृढीकरणको काममा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।
उनले भने, ‘अहिले तपाईहरूलाई थाहा छ हामीले स्थानीय तह निर्वाचनमा भाग लियौं, अब मंसीर महिनामा चुनाव आउँदैछ, सम्भवत मंसीर महिनाको पहिलो हप्तामा चुनावको घोषणा हुनेछ, अब कति दिन हामीले गठबन्धनको डम्फू बजाएर बस्ने? अब डम्फू बजाउने होइन अब यो पार्टीलाई बलियो बनाउने हो। यो पार्टीलाई सुदृढ बनाउने कुरा गर्ने हो’।
स्थानीय तह निर्वाचनमा पार्टीलाई सुदृढ बनाउने काममा नलाग्दा सत्तारुढ अन्य दलहरूले आफूहरूलाई सहयोग नगरेको नेपालको भनाई थियो।
उनले आगामी आम निर्वाचनमा २० देखि २५ सिट ल्याउने दावी समेत गरे।
स्थानीय तह निर्वाचनमा २८ प्रतिशत उम्मेदवारी दिँदा नौं लाख २७ हजार भोट पाएको उल्लेख गर्दै अध्यक्ष नेपालले सबै ठाउँमा उम्मेदवारी दिएर आगामी आम निर्वाचनमा जाँदा समानुपातिकसहित प्रतिनिधिसभामा आफ्नो पार्टीले २० देखि २५ सिट ल्याउने दाबी गरे।
उनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ आफ्नो पार्टीले आगामी निर्वाचनमा कम्तीमा १२ सिट जित्ने उल्लेख गरे।
उनले भने, ‘हामीले गठबन्धन दलबाट जति सहयोग पाउनुपर्ने हो, जति महत्व पाउनुपर्थ्यो, त्यो पाउन सकेनौं तर पनि चिन्ता गर्नुपर्ने कुरा के छैन भने हामीले उठाएका उम्मेदवार जम्मा करिब २८ प्रतिशत थिए तर हामीले भोट कति ल्यायौ थाहा छ ? नौ लाख २७ हजार, सबै ठाउँमा हामीले उम्मेदवार खडा गरेको भए २० देखि २५ लाख भोट पाउथ्यौं होला, २० देखि २५ लाख भोट पाएपछि २० देखि २५ सिट त हामीलाई कसैले पनि रोक्न सक्दैन नि समानुपातिकबाट, भनेपछि हाम्रो पार्टी कमजोर छैन’।
उनले कार्यक्रममा काँग्रेसको कुनै पनि भर नभएको पनि बताए।
[ref-setopati]
अन्तमा यो पनि…