The Mirror
नेकपा (एकीकृत समाजवादी) ले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा सत्ता-गठबन्धनबाट आफ्नो पार्टीलाई ठुलो धोका भएको निष्कर्ष निकालेको छ।
स्थानीय तहको निर्वाचनको समीक्षा गर्न शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले त्यस्तो निष्कर्ष निकाल्दै समग्र समीक्षाका लागि सूचना संकलन गर्न नेताहरुलाई जिम्मेवारी समेत तोकेको छ।
सचिवालय बैठकपछि एकीकृत समाजवादीका नेता झलनाथ खनालले गठबन्धनप्रति आफूहरु बेहद असन्तुष्ट रहेको बताए।
उनले आक्रोशित हुदै भने, ‘हामी अलिक हैन, बेहद असन्तुष्ट छौं, यो पाँच दलको गठबन्धनभित्र सम्मानजनक रुपले गठबन्धन हुँदै भएन, त्यो नभएको हुनाले हामी असन्तुष्ट छौं, त्यो हामीले पाँच दलभित्र पनि राखेका छौं, हामी आफैंले पनि समीक्षा गर्दैछौं’।
उपमहासचिव गंगालाल तुलाधरले उनले भने, ‘हामीहरु इमान्दार भए पनि गठबन्धनमा हामी माथी धोका भएको छ, हाम्रो संगठनात्मक आधार हुँदाहुँदै, हामीले गठबन्धनमा रहेर इमान्दारिता देखाउँदा देखाउँदै कतिपय ठाउँमा हामीमाथि धोका भएको छ, अथवा हाम्रो शक्ति सम्पूर्ण रुपमा परिचालित नभएको हो कि ? जे हो सत्य तथ्यमा आधारित भएर निष्कर्ष निकालेर त्यसैका आधारमा निर्णय लिन्छौं’।
समग्र समीक्षाका लागि पाँच दिन भित्र सूचना संकलन गर्न बैठकले सचिवालयका ७ जना नेतालाई प्रदेशगत जिम्मेवारी समेत दिएको छ। सचिवालयको बैठक भोलि ११ बजे पुनः बस्ने छ।
[ref-onlinekhabar]
अन्तमा यो पनि…