gathabandhan

‘गठबन्धन नगरे माओवादीको आठ, समाजवादीको एक सिट’

National News News

The Mirror

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनको निरन्तरता र औचित्यमाथि गम्भीर छलफल भएको छ।

असार २७ गतेदेखि ३२ गतेसम्म आगामी संघ र प्रदेश निर्वाचनको गठबन्धनका सन्दर्भमा १ सयभन्दा बढी नेताहरुले आफ्नो आफ्नो धारणा राखेको थिए।

बैठक गठबन्धन गर्दा काँग्रेसलाई हुने नाफा–घाटाका विषयमा बढी केन्द्रित भएको नेताहरूले बताए। सैद्धान्तिक प्रश्न उठाइए पनि यसपटक स्थानीय तहको निर्वाचनमा गठबन्धनको विपक्षमा उभिएका शेखर कोइराला समूहका नेताहरू पनि संघ र प्रदेशको चुनावका सन्दर्भमा लचक देखिए।

नेताहरु कोइराला, उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे, नेता चन्द्र भण्डारी लगायतबाट गठबन्धनको पक्षमा अभिव्यक्ति आइरहेको छ। खुलेर गठबन्धनको पक्षमा नदेखिए पनि महामन्त्री गगन थापा पनि धेरै रिजिड छैनन।

संस्थापन इतर पक्ष नै गठबन्धनमा लचक देखिएपछि प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई हाइसञ्चो भएको उनी पक्षीय नेताहरूको बुझाइ छ।

गठबन्धनका लागि सभापति देउवालाई नेताहरू रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विजय कुमार गच्छदार, कृष्णप्रसाद सिटौला, बालकृष्ण खाँण, ज्ञानेन्द्र कार्की, एनपी साउद, सुनिल थापा लगायतको दह्रो साथ हुने देखिएको छ। उनीहरू निकट नेताहरू पनि गठबन्धनको पक्षमा उभिएका छन। यसले स्थानीय तह जस्तै गठबन्धनमा ‘हुन्छ र हुँदैन’ भन्ने अवस्था नरहेको नेताहरूको भनाइ छ।

बैठकमा पार्टीका पदाधिकारी र शीर्ष नेताहरूले गठबन्धनको आवश्यकता महसुस गरेको नेता रामहरि खतिवडाले बताए। संघ र प्रदेशको चुनावमा गठबन्धन गरेर जाने पक्षमा उभिन पार्टी संस्थागत रूपमा निर्णय लिने उनको भनाइ छ।

०७४ को निर्वाचनमा पाँच दलीय गठबन्धनभित्र सम्बन्धित दलले जितेको क्षेत्र स्वतः छोड्ने कुरामा मात्र काँग्रेसमा विमति रहेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल र गृहमन्त्री बालकृष्ण खाँण गठबन्धनको पक्षमा सशक्त रूपमा प्रस्तुत भएका छन।

गृहमन्त्रीको ब्रिफिङ्गमा के छ?

संस्थापन पक्षकै केही नेताहरूले गठबन्धन गरेर जानुभन्दा एक्लै लड्दा फाइदा हुने मत राखेपछि गृहमन्त्री खाँण डाटासहित बैठकमा प्रस्तुत भए। बैठकमा सहभागी एक नेताका अनुसार प्रत्येक जिल्लाको सबै पार्टीको साङ्गठनिक शक्तिबारे उनले बैठकमा रिपोर्ट राखेका थिए।

गृहमन्त्री खाँणले सबै दल एक्ला एक्लै चुनावमा जाँदा प्रतिनिधिसभा प्रत्यक्षतर्फ पार्टीले करिब ८० सिट जित्ने प्रक्षेपण गरे। यस्तै एमालेले ५७ सिट ल्याउने उनको भनाइ छ।

यस्तै, माओवादीको ८ र नेकपा एकीकृत समाजवादी, राप्रपा, जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक एक सिट जित्न सक्ने आँकलन छ।

जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीले गरी १६ सिट मधेस केन्द्रित दलले जित्न सक्ने गृहमन्त्रीको रिपोर्टले बताउँछ। गृहमन्त्री खाँणको रिपोर्टमा स्वतन्त्र उम्मेदवारले जित्ने अवस्था नरहेको उल्लेख छ।

स्थानीय निर्वाचनमा काठमाडौँ, धरान, धनगढी लगायतका सहरमा स्वतन्त्र उम्मेदवारले जित हात पारेका बेला संघमा भने स्वतन्त्र उम्मेदवारले जित्ने अवस्था नरहेको गृहमन्त्री खाँणको दाबी छ।

नयाँ गठित दलहरूले पनि आगामी प्रतिनिधिसभा निर्वाचनमा जित हात पार्ने सक्ने अवस्था नरहेको गृहमन्त्रीको रिपोर्टमा उल्लेख छ।

यद्यपि प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूले जित्न सक्ने गृहमन्त्रीको रिपोर्टमा भनिएको छ। सबै दल एक हुँदा र काँग्रेस एक्लै लड्दा ३५ ठाउँमा जित्ने गृहमन्त्री खाँणले बैठकमा रिपोर्ट सुनाएका थिए।

[ref-ratopati]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *