gandaki pradesh

‘गण्डकी प्रदेश सरकारले पूर्व-पदाधिकारीलाई सेवा सुविधा उपलब्ध गराउने’

National News News

The Mirror

गण्डकी प्रदेश सरकारले प्रदेशका पूर्वसभामुख, पूर्वमुख्यमन्त्री र पूर्वमन्त्रीलाई सेवासुविधा र सुरक्षा उपलब्ध गराउने तयारी गरेको छ।

सेवा सुविधा के र कसरी दिन सकिन्छ भन्ने विषयमा अध्ययन गर्न प्रदेश सरकारको बुधबारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अध्यक्ष रहने एउटा कार्यदल गठन गरेको छ।

सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले शुक्रबार पत्रकार सम्मेलन मार्फत पूर्वपदाधिकारीलाई केकस्तो सुविधा उपलब्ध गराउन सकिन्छ भन्ने विषयका लागि कार्यदल गठन गरिएको बताए।

कार्यदलले सेवा सुविधा उपलब्ध गराउने सम्बन्धमा उपयुक्त कानूनको मस्यौदा तयार गर्नेछ भने, संघीय र अन्य प्रदेश सरकारको पूर्वपदाधिकारीको सुविधा सम्बन्धमा व्यवस्था गरेको कानूनी प्रावधानलाई आधार बनाएर कानूनको मस्यौदा तयार गर्ने उनले बताए।

खड्काले भने, ‘यसअघिको सरकार पहिलो भएकाले यस विषयमा सोचेको थिएन, कांग्रेस नेतृत्वको सरकार गठन भएपछि संस्थापक मुख्यमन्त्रीको लागि के गर्ने भन्ने सल्लाह भएको थियो, सबैको विरोधपछि केही निर्णय भएन, सुविधाभन्दा पनि सुरक्षाको दृष्टिकोणले के गर्न सकिन्छ भन्ने हो’।

सरकारले कार्यकालको अन्तिममा आएर पूर्व पदाधिकारीको सुविधा तथा सुरक्षाको व्यवस्था गर्न लागेपछि कास्कीका ५ दलीय गठबन्धनले विरोध गरेका छन।

सरकारले आर्थिक भार पर्ने गरी आफूहरूलाई समेत सुविधाको व्यवस्था गरेर बाहिरिन लागेपछि यसको चौतर्फी विरोध भइरहेको छ।

५ दलीय गठबन्धनले निकालेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘पाँच दलीय गठबन्धनले मुलुकको अर्थतन्त्रमा उतारचढाव देखिएको र आधारभूत आवश्यकतालाई सम्बोधन गर्दै विकास निर्माण कामलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्नेमा कुनै पनि नाममा सेवा सुविधा थप गर्ने कार्यलाई उचित मान्न सकिँदैन, त्यसैले गठित कार्यदललाई तुरुन्त भंग गरी जनपक्षीय काममा केन्द्रित हुन गण्डकी प्रदेश सरकारसमक्ष जोडदार माग गर्दछौं’।

[ref-ekantipur]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *