China fires missiles near Taiwan

चीनले ताइवानमा मिसाईल हान्यो, जापान आक्रोशित

Breaking News International News News

The Mirror

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण लगत्तै व्यापक सैन्य अभ्यास सुरू गरेको चीनले ताइवान वरपर अनेकौं मिसाईल प्रहार गरेको छ।

चीनले प्रहार गरेका पाँच वटा क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा अवतरण गरेको जापानले जनाएको छ। जापानका रक्षामन्त्री नबुओ किशीले कूटनीतिक च्यानलमार्फत कडा रूपमा त्यसको प्रतिवाद गरेको र अझै पनि गरिने बताए।

ताइवानले भने आफ्नो भूमि वरपर चीनले हालसम्म ११ वटा मिसाईल प्रहार गरिसकेको जनाएको छ।

रोएटर्सका अनुसार ताइवानका रक्षा मन्त्रीले पनि प्रक्षेपणको प्रतिक्रिया स्वरूप आफ्नो प्रतिरक्षा प्रणाली सक्रिय बनाएको बताएका छन्।

चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी तटहरू वरपरको समुद्रमा थुप्रै डङ्फेङ् बलिस्टिक मिसाईल प्रहार गरेको बताइएको छ।

हाल ताइवान र त्यहाँबाट अन्यत्र जाने ५० भन्दा बढी अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएका छन्। यद्यपि, ताइपेईको जनजीवन सामान्य चलिरहेको छ।

चीनले आफ्नो क्षेत्र दाबी गर्दै आएको ताइवानमा पलोसीको भ्रमणलाई सार्वभौमसत्तामाथिको चुनौती ठानेको छ। यता, ताइवानले चीनले यस क्षेत्रमा यथास्थिति परिवर्तन गर्न खोजिरहेको बताएको छ।

यसैबीच ताइवानको विषयमा जी सेभेन देशहरूको समूहलाई जवाफ दिँदै चीनले यो समूहले विश्वव्यापी समुदायको प्रतिनिधित्व नगर्ने दाबी गरेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा शुनयाङले सामाजिक सञ्जालमार्फत जी सेभेनले विश्व समुदायको प्रतिनिधित्व नगर्ने भन्दै तिनीहरूको विचारले संसारको एउटा सानो अंश मात्र प्रतिनिधित्व गर्ने बताएकी छन।

जी सेभेनलाई ‘तानाशाह’ को संज्ञा दिँदै उनले अगाडि भनेकी छन, ‘सिंगापुरका विद्वान किशोर महबुबानीले ठीकै लेखेका हुन्, जी सेभेन… विश्वव्यापी रूपमा तानाशाही छ’।

ताइवानमाथि आफ्नो दाबीलाई झनै बलियो बनाउन चीनले सैन्य गतिविधि बढाएको कतिपयको आशंका छ। हालसालै मात्रै ताइवान स्ट्रेटलाई अन्तर्राष्ट्रिय जलमार्ग मान्न नसकिने घोषणा चीनले गरेको थियो।

त्यसबाहेक चीनले ताइवानबाट कृषिजन्य सामाग्री आयात रोकेको छ। चीनका विदेश मन्त्री वाङ् यीले राष्ट्रपति सी चिनफिङले भन्ने गरेको चेतावनी दोहोर्‍याएका छन, ‘आगोसँग खेल्नेहरू खरानी हुने छन् र चीनको अपमान गर्नेले निश्चय नै सजाय पाउने छन’।

चीनको कडा चेतावनीका बाबजुद् ताइवानकी राष्ट्रपति चाइ इङ वेनले पेलोसीको न्यानो स्वागत गरिन्।

स्वागत मन्तव्यमा उनले भनेकी छिन्, ‘ताइवानलाई डराउन नियोजित रूपमा बढाइएका सैन्य गतिविधिले हामी विचलित भएका छैनौं, राष्ट्रको सार्वभौमिकता र प्रजातन्त्रको रक्षाका निम्ति हामी दृढतापूर्वक उभिनेछौं’।

ताइवानकी राष्ट्रपतिसँग पेलोसीले ताइवानको प्रजातन्त्र रक्षाका निम्ति अमेरिकी ऐक्यवद्धता रहने बताइन्।

पेलोसीले भनेकी छन, ‘संसार नै निरंकुशता वा प्रजातन्त्रको छनौटको सामना गरिररहेको छ, ताइवानमा र संसारभर प्रजातन्त्रको रक्षाका निम्ति अमेरिका कवजको रूपमा उभिनेछ’।

ताइपेईको १ सय १ तल्लाको भवनमा प्रकाशको माध्यमबाट धन्यवाद अमेरिका, प्रजातन्त्र र ताइवानको साथी अमेरिका सहितका शब्द लेखिएका थिए।

[ref-setopati]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *