kp oli

‘चुनावी परिणामबारे एमाले मौन, हार किन स्वीकार नगर्ने’

National News News

The Mirror

स्थानीय तहको मतपरिणाम सुखद नभएसँगै प्रतिपक्षी एमालेमा विवाद बढेको छ। २०७४ सालको स्थानीय तहको चुनावमा पहिलो बनेको एमाले अहिले दोस्रोमा खुम्चिएपछि पार्टीमा विवाद बढेको हो।

हालसम्मको मतपरिणामले नेपाली कांग्रेस पहिलो दल भएको छ। एमाले दोस्रो दल हुने निश्चित भए पनि एमाले नेताले भने पहिलो शक्ति नै भएको दाबी गरिरहेका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीपक्षधर नेताले अध्यक्ष ओलीको बचाउ गर्दै एमाले सशक्त मतसहित पहिलो भएको दाबी गर्छन्।

एमाले उपाध्यक्ष सुवास नेम्वाङले भने, ‘गठबन्धन एकातिर हामी अर्कातिर हुँदा पनि हामीसँग उल्लेख्‍य मत छ, यसैले हामी पहिलो दल हौँ, हामीलाई पत्तासाफ बनाउने अभिव्यक्ति दिँदा पनि यो किसिमको मत आउनु सामान्य कुरा होइन’।

अध्यक्ष ओलीले त ६० प्रतिशत जित निकाल्ने सार्वजनिक रूपमै अभिव्यक्ति दिएका थिए। गठबन्धनका कारण एमालेलाई असर नपर्ने भएकाले सहज जित निकाल्ने भन्दै ओली देश दौडाहामा निस्किए तर निर्वाचन मतपरिणाम एमालेको पक्षमा देखिएन।

मतपरिणाममा चित्त बुझाउन एमालेलाई गाह्रो भएको छ। मत परिणाम आउनेक्रम जारी छ। अधिकांश स्थानमा कांग्रेस र गठबन्धनकै उम्मेदवारको अग्रता छ। प्रारम्भिक मतपरिणाम आउँदै गर्दा नै एमालेले सरकारले धाँधली गरेको आरोप लगायो। प्रहरी प्रशासनको दुरुपयोग गरेको, विपक्षीका कार्यकर्तामाथि कुटपिट गरेकोलगायतका आरोप एमालेले लगाएको थियो।

योसँगै एमालेका ओलीनिकट नेताले सरकारका जालझेलका कारण आफूहरूले अपेक्षाकृत मत नल्याएको बताए तर एमालेका ओलीइतर नेता घनश्याम भुसालले भने बाम गठबन्धनको भावनाविपरीत कम्युनिस्ट शक्ति चुनावमा जाँदा हार व्यहोरेको बताए।

एमालेका अधिकांश नेता यो चुनावमा हार भएको स्वीकार्न चाहदैनन्। सिट कम आए पनि जनलहर बढेको अभिव्यक्ति उनीहरूको छ तर कतिपय नेताले हार स्वीकारेका छन्।

एक कार्यक्रमका बीच एमाले सचेतक विशाल भट्टराईले ‘गठबन्धन यति बलियो होला भन्ने नलागेको’ अभिव्यक्ति दिए।

भट्टराईले भने, ‘गठबन्धन कमजोर बन्छ तर यसको कमीकमजोरीमा खेलौला भन्ने लागेको थियो तर त्यसो भएन’।

एमालेका नेताले भनेका कतिपय कुरालाई भट्टराईले खण्डनसमेत गरेका छन्। ओलीले ६० प्रतिशत जित निकाल्ने भनेका कुरा जनतामा हौसला बढाउन र कार्यकर्तामा नैरश्यता कम गर्नका लागि हो भनेका छन।

अपेक्षाकृत मत नआएपछि एमालेले विभिन्न कारण देखाउँदै हारेको बताएको छ। मुख्यतः गठबन्धनका कारण चुनाव हारेको एमालेले बताएको छ। गठबन्धनले ध्वस्त बनाउन लाग्दा यो किसिमको सीट हासिल हुनु उल्लेखिय प्रगति भएको बताएको छ।

तर आफैभित्रको अन्र्तघात भने एमालेले बाहिर निकालेको छैन। मुख्यतः अन्तर्घातका कारण एमालेले छ महानगरपालिकाको प्रमुख गुमाउँदैछ।

विशेषत : काठमाडौँ र पोखरा महानगरमा एमालेको अन्तर्घात छताछुल्ल भएको छ। काठमाडौँमा एमालेले केशव स्थापितलाई मेयरमा उठायो। एमालेकै पूर्वमन्त्री रामवीर मानन्धर र काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले नै स्थापितलाई अन्तर्घात गरेको आरोप एमाले पङ्तिले नै लगाइरहेको छ।[यो समाचार himalpressमा छापिएको छ]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *