sthapit and balen

जब बिहानै बालेन शाह केशव स्थापितको ढोकामा पुगे…

National News News

The Mirror

काठमाडौंका मेयर बालेन शाह बिहानै स्थानीय निर्वाचनका आफ्ना प्रतिस्पर्धी तथा पूर्वमेयर केशव स्थापितलाई भेट्न चुच्चेपाटीस्थित उनको निवास पुगे।

मेयर निर्वाचित भएपछि बालेन पहिलोपटक स्थापितलाई भेट्न गएका हुन्।

स्थापितले भने, ‘म त ध्यान गर्ने तयारीमा थिएँ, श्रीमतीले बालेन आएको छ भनिन, मैले उनलाई डाकेको पनि होइन, बिहान ढोका ढक्ढक्याउँदै आइपुगे, मैले कफी खुवाएँ’।

बालेनले उम्मेदवार बन्नुअघि पनि स्थापितसँग कुराकानी गरेका थिए। निर्वाचन प्रचारप्रसार क्रममा पनि दुई जनाको भेट भएको थियो। बालेनले आशिर्वाद मागेका थिए। स्थापितले ‘सफल इन्जिनियर भव’ भने।

निर्वाचनकै बेला बालेनलाई ‘फटाहा’ भन्नधरि स्थापित पछि परेका थिएनन्। जवाफमा बालेनले ‘आफ्नो प्रचार गरिदिएको’ भन्दै स्थापितलाई ‘ब्रान्ड एम्बेसडर’ को पगरी थमाइदिए।

चुनावदेखि नै यस्तो नोकझोंक चलिरहेका बालेन र स्थापितबीच बुधबार करिब एक घन्टाको कफी वार्ता भयो।

स्थापितले भने, ‘मैले अबदेखि सोधेर आउने चलन चलाउनू, बाटोबाटै आउने होइन भनेको छु, विषय किटान गरेर आउनुपर्छ, अनुमति लिनुपर्छ, कार्यालयमा चिट काटेर आएजस्तो होइन, यो त मेरो घर हो, दिस इज माई हाउस भनेँ’।

बालेन सुरूमा सोफाको पल्लो छेउमा बसेको र पछि आफूले सँगै बसालेको स्थापित बताए।

स्थापितले भने, ‘उनी सोफाको पल्लो छेउमा बसेका थिए, मैले मेरै छेउमा बस भनेँ, कालो कफी खुवाएँ, पाकेको ‘अन्डा खाऊ’ भनेको, खाएनन, बालेनसँगै आउनेले चाहिँ खाए’।

स्थापितका अनुसार झन्डै एक घन्टा बसे पनि बालेन खासै बोलेनन्। सँगै आएका उनको सचिवालयका व्यक्तिहरूले धेरै जिज्ञासा राखेको स्थापितले बताए।

धेरैजसो जिज्ञासा फोहोर व्यवस्थापन, महानगरको बागदरबार कार्यालय नयाँ बनाउने कि रेट्रोफिट गर्ने, फुटपाथ पसल कसरी व्यवस्थापन गर्ने लगायत विषयमा केन्द्रित थिए।

स्थापितले भने, ‘फोहोर व्यवस्थापनको कुरा गर्न खोजेको मैले बुझेँ, आसय बुझेर मैले यो मेरो काठमाडौं हो, म मेरो काठमाडौं सुध्रिएको हेर्न चाहन्छु भनेर भनेँ, तीन महिनाभित्र काठमाडौंको फोहोर व्यवस्थापन गर्न सकिन्छ भनेर सुनाएँ’।

यति भनेपछि बालेनले ‘कसरी जाऊँ त’ भनेर सोधेछन्।

स्थापितले भनेछन्, ‘अहिले तिमी हिँडेको बाटो गलत छ। तिमी उल्टो बाटो गइरहेका छौ। यसले तिमीलाई गलत ठाउँमा पुर्‍याउँछ। बाटो सच्याएर अगाडि बढ्नू।’

त्यसपछि फोहोर व्यवस्थापनमा कसरी अघि बढ्ने भनेर सुझाव दिएको स्थापितले बताए।

बालेनलाई दिएको सुझाव उद्धृत गर्दै उनले भने, ‘काठमाडौंको शतप्रतिशत फोहोर व्यवस्थापन निजी क्षेत्रले गरिरहेको छ। कसले कहाँ फोहोर संकलन गर्छ भन्ने महानगरसँग रेकर्ड छैन। एउटा घरको पनि फोहोर महानगरले उठाउँदैन।’

कुराकानी क्रममा बालेनले कुनै टिपोट गरेनन्। उनी पूरै अवधि मुठ्ठी बाँधेर मौन बसे। सँगै आएकाहरूले नै धेरैजसो प्रश्न सोधेका थिए।

सुकुम्बासी व्यवस्थापन कहाँ, कसरी गर्ने भनेर पनि उनीहरूले प्रश्न गरे। स्थापितको जवाफ थियो, ‘खोलाछेउका कतिपय ठाउँ मैले खाली गराएको हो। मैले धेरै जनासँग संवाद गरेको पनि हो। तर सुकुम्बासीको विषय बुझेको छैन भने अहिले त्यसमा हात नहाल।’

फुटपाथ पसल व्यवस्थापनका लागि आफूले महानगरपालिकामा छँदा गराएका अध्ययन हेर्न सुझाव दिएको उनले बताए।

‘फुटपाथ कसरी व्यवस्थापन गर्ने भनेर मैले महानगरपालिकामा छँदा २०-३० वटा अध्ययन गराएको थिएँ। त्यसको रिपोर्ट महानगरमै होला। खोजेर अध्ययन गर्नू,’ स्थापितले बालेनलाई भने, ‘रिपोर्टले भनेबमोजिम एप्रोज समाउनू।’

आफूले विभिन्न विषयमा सल्लाह-सुझाव दिँदा पनि बालेन सुन्ने र अमल गर्ने मुडमा नदेखिएको स्थापितको बुझाइ छ।

‘मैले बालेनलाई सुन्ने मुडमा चाहिँ देखिनँ,’ उनले भने, ‘ऊ भरिभराउ भएर आएको थियो। यसो फोटो खिच्ने, मिडियामा हाल्ने मुड देखिन्थ्यो।’

उनको यस्तै मुड देखेर ‘तिम्रो काम गर्ने शैली भएन’ भन्दै आफूले हप्काएको पनि स्थापितले बताए।

‘यसरी नै काम गर्ने हो भने तिमीले काठमाडौं बिगार्छौ भनेको छु,’ स्थापितले भने, ‘मैले उसलाई सबभन्दा पहिला फोहोरमैलाको समस्या समाधान गर्न भनेको छु।’

कुराकानी क्रममा बालेनका सहयोगीहरूले पछिल्लो समय उठेका आलोचनाको प्रसंग पनि झिकेको स्थापितले जानकारी दिए। खासगरी बालुवाटारमा मकै पोल्ने व्यवसायीका सामान नगर प्रहरीले जबर्जस्ती खोसेर लगेको घटनामा भएको आलोचनाबारे उनीहरू स्थापितको राय सुन्न चाहन्थे।

स्थापितले यो पनि भने, ‘मकै भनेको सामान्य मान्छेले बेच्ने र सामान्य मान्छेले खाने कुरा हो। बाटोमा हिँड्दा मकै किनेर खान नपाउने भन्ने पनि हुन्छ? तर मूल सडकमा त्यस्तो व्यवसाय गर्न नदेऊ। व्यवस्थित बनाऊ। सुरक्षित र स्वस्थ बनाउने संयन्त्र खडा गर। अनि यस्तो व्यवसायमा शारीरिक अपांगता भएकालाई प्राथमिकता देऊ।’

उनले काठमाडौं महानगरको ठिक अगाडि रहेको ११ रोपनी जग्गा अधिग्रहण गर्न पनि सुझाव दिएका छन्। त्यहाँको जग्गा अधिग्रहण गर्ने हो भने दुईवटा राम्रो भवन बनाएर सबै कार्यालय राख्न सकिने स्थापितको भनाइ छ।

बालेनलाई आफूले प्रतिवाद नगर्न सुझाव दिएको पनि स्थापितले बताए।

‘प्रतिवादमा नजाऊ, मेयरको क्षमता भनेको प्रतिवाद गर्ने होइन,’ स्थापितले भने, ‘मैले सभ्य समाजमा घरघर छिर्ने चलन हुँदैन भनेको छु तर आएपछि कुरा गर्ने मुडमा आउनुपर्थ्यो।’

उनले बालेनलाई भनेछन्, ‘टुडे यू आर नट इन गुड मुड। बिहानै यस्तो छ भने कसरी मेयर चलाउँछौ!’

[ref-setopati]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *