Thesis sold in nepal

‘डिग्रीको थेसिस १२ रुपैयाँ प्रतिकिलोमा बिक्री’

National News News

The Mirror

त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको सोधपत्र (थेसिस) लेख्ने विद्यार्थीले तिन प्रति मध्ये एक प्रति क्याम्पसमा, एक प्रति केन्द्रीय पुस्तकालयमा र एक प्रति परीक्षा नियन्त्रण कार्यालयमा बुझाउनुपर्छ।

यसरी विद्यार्थीले बुझाएको थेसिस परीक्षा नियन्त्रण कार्यालयले भने पुराना कागजको रुपमा उद्योगलाई बिक्री गर्ने गरेको पाइएको छ। कार्यालयले राख्ने ठाउँको अभाव भएको कारण देखाएर विद्यार्थीले बुझाएको थेसिस र उत्तरपुस्तिका कागज उद्योगलाई बेच्ने गरेको हो।

परीक्षा नियन्त्रक पुष्पराज जोशी थेसिस बेच्ने प्रचलन २०५६ सालदेखि नै रहेको बताए।

उनले भने, ‘केन्द्रीय पुस्तकालयमा बुझाएको थेसिस सुरक्षित हुने भएकाले परीक्षा नियन्त्रण कार्यालयमा बुझाएको थेसिसचाहिँ नतिजा प्रकाशन भएको चार महिनापछि बेच्ने गरिएको छ’।

परीक्षा नियन्त्रक जोशीले भने, ‘भविष्यमा रेफरेन्सका लागि केन्द्रीय पुस्तकालयको प्रयोग हुन्छ , हाम्रो चाहिँ रिजल्ट भएपछि छ महिना भन्दा बढी राख्ने स्थान हुँदैन, भाषा विज्ञान प्रतिष्ठान र योजना आयोगले आवश्यक परेको लैजान्छ, बाँकी रहेको हामीले गोपनीयताका साथ डिसमेन्टल गर्छौ’।

जोशीले भने, ‘विद्यार्थीले बुझाएका शोधपत्र परीक्षा नियन्त्रण कार्यालयमा प्रयोजनविहीन हुन्छन, हामी गोपनीयताका साथ टुक्रा बनाएर पेस्ट बनाउने सर्तमा मात्रै दिन्छौं, त्यसको फेरि कागज नै बन्ने हो’।

परीक्षा नियन्त्रण कार्यालयले उत्तरपुस्तिका र थेसिस पहिले पुराना कागज संकलकहरुलाई नै बिक्री गर्ने गरेको थियो। त्यसो गर्दा बदाम र चना चटपटे बेच्नेको हातमा पनि पुगेको भेटिएपछि कागज उद्योगलाई बिक्री गरेको परीक्षा नियन्त्रक जोशीले बताए।

परीक्षा नियन्त्रकको कार्यालयले आफूलाई बुझाएको थेसिस कहिल्यै सुरक्षित गरेर राखेको छैन। ०५६ सालअघि यस्ता थेसिस र उत्तरपुस्तिका खाल्डो खनेर पुर्ने गरेको परीक्षा नियन्त्रक जोशी बताउँछन् ।

उनले भने , ‘यसरी पुर्दा २०/३० हजार खर्च हुन्थ्यो अहिले केही नभए वर्षको दश लाख रुपैयाँ (थेसिस र उत्तरपुस्तिका बेचेर) जत्ति आउँछ। वेस्टेज भएको चिज फेरि प्रयोग पनि हुने भयो। त्रिविको आयस्रोत पनि बढ्यो’।

पनिकाले ०५६ सालमा प्रतिकिलो ४ रुपैयाँमा बेच्ने गरेको थेसिस र उत्तरपुस्तिका हिजोआज प्रतिकिलो १२ रुपैयाँमा बिक्री गरिने परीक्षा नियन्त्रक जोशीले बताए।

परीक्षा नियन्त्रण कार्यालयमा शोधपत्र मात्रै वर्षको २० देखि ३० हजार प्रति जम्मा हुने गर्छ। वर्षमा ३० देखि ४० लाख उत्तर पुस्तिका जम्मा हुने भएको र राख्ने स्थान नहुने भएकाले कागज उद्योगलाई बेच्ने गरेको उनको दाबी छ।

त्रिविको केन्द्रीय पुस्तकालय प्रमुख पूर्णलाल श्रेष्ठ विद्यार्थीले मिहेनत गरेर बुझाएको शोधपत्र कागज उद्योगलाई बेच्नु गलत भएको बताए। ‘शैक्षिक हिसाबले सोच्दा ठीक होइन’ उनी भन्छन।

राख्ने ठाउँ नभए शोधपत्र बुझ्ने नयाँ उपाय खोज्नुपर्ने उनको भनाइ छ। ‘राख्ने ठाउँ साँघुरो होला, तर नयाँ उपाय ल्याउनुपर्‍यो । हार्डकपीको सट्टा सफ्टकपी बुझनुपर्‍यो । त्यसलाई डिजिटलाइज्ड गर्न पनि सहज हुन्छ’ श्रेष्ठ भन्छन।

[ref-onlinekhabar]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *