Nagdhunga Tunnel

‘नागढुंगा–नौबिसे सुरुङमार्ग लगभग अन्तिम चरणमा’

National News News

The Mirror

काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रने मुख्य नाका नागढुंगा–नौबिसे सुरुङमार्गमा अर्को साउनदेखि गाडी कुदाउन सकिने भएको छ।

निर्माण आयोजनाका अनुसार आगामी वर्षसम्म सुरुङमार्गको काम सकेर गाडी कुदाउन मिल्नेगरी काम भइरहेको छ।

नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाका निर्देशक नरेशमान शाक्यले लक्ष्य पूरा गर्न अहिले दुई सिफ्टमा फुल फ्लेजमा काम भइरहेको बताएका छन।

शाक्यले हाल दैनिक १० देखि १२ मिटरसम्म सुरुङमार्ग खन्ने काम पूरा भइरहेको जानकारी दिएका छन। कोभिड लगायतका कारण सुरुवाती चरणमा निर्माण आयोजना केही ढिला हुन गए पनि अहिले फुल फ्लेजमा काम सञ्चालन भइरहेको उनको भनाइ छ।

सुरुङमार्गसँगै लाइनिङलगायत फिनिसिङको काम पनि सँगसँगै भइरहेको आयोजनाले जनाएको छ। अहिले दुवैतिरको पोर्टलमा गरी दैनिक ५ सय ४० जनाले काम गरिरहेका आयोजनाले जनाएको छ।

निर्माण आयोजनामा मुआब्जाका विषयसमेत समस्यामा रूपमा रहँदै आएको छ। आयोजनाले भने मुआब्जा वितरणदेखि क्षतिपूर्तिका सम्पूर्ण कार्य अहिले अन्तिम चरणमा पुगेको जनाएको छ।

आयोजनाले फ्लाइओभरका लागि मात्र ८० प्रतिशत मुआब्जा वितरण गरिसकेको र बाँकी २० प्रतिशत मुआब्जा रकम यही आर्थिक वर्षभित्र बाँड्ने योजना रहेको जनाएको छ।

सुरुङ आयोजनाको निर्माणअन्तर्गत काठमाडौंतिर ओभरपास निर्माण सकिएको र बलम्बुमा फ्लाइओभर निर्माणको तयारी थालिएको आयोजनाको भनाइ छ।

आयोजनाले हालसम्म मुख्य सुरुङ खन्ने काम ५६ प्रतिशत पूरा भएको जनाएको छ। मुख्य सुरुङ र सहायक सुरुङ (इभाकुएसन) गरी ३ हजार ७२ मिटर सुरुङ खन्ने काम पूरा भएको छ।

काठमाडौंतर्फ मुख्य सुरुङ ७ सय १८ मिटर र सहायक सुरुङ ८ सय ७६ मिटर पूरा भएको आयोजनाले जनाएको छ। यस्तै, धादिङतर्फ ६ सय ५९ मिटर मुख्य र ६ सय ३१ मिटर इभाकुएसन टनेल खन्ने काम सकिएको छ।

धादिङतर्फ १ सय २६ मिटर अडिट टनेल पूरा भएको छ भने ६२ मिटर क्रस प्यासेज पनि निर्माण भएको छ। इभाकुएसनको कुल लम्बाइ २ हजार ५ सय ५७ मिटर र मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर रहेको छ।

४२ महिनामा सम्पन्न गर्ने गरी सो आयोजना २०७६ कात्तिकमा निर्माण सुरु भएको थियो। जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेसनबीच २०७६ असोजमा सम्झौता भई निर्माण भइरहेको छ। कोभिड लगायतका कारण आयोजनाको म्याद थप गरिएको छ।

नागढुंगा सुरुङमार्ग जापान सरकारको सहयोगमा जापानी निर्माण कम्पनीद्वारा निर्माण भइरहेको राष्ट्रिय प्राथमिकताको आयोजना हो।

नागढुंगा–नौबिसे सुरुङमार्ग लागि जापानी सहयोग नियोगले १६ अर्ब रुपैयाँ सहुलियत ऋण सहयोग दिएको छ। सो ऋण ४० वर्षमा तिरिसक्नुपर्नेछ भने ब्याज शून्य दशमलव शून्य १ प्रतिशत रहेको छ। २२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना ६ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट बेहोर्नेछ।

[ref-dcnepal]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *