nijgad airport

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य रोक्न सर्वोच्चको आदेश

National News News

The Mirror

सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय बदर गरिदिएको छ।

न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले निजगढमा विमानस्थल बनाउने अहिलेसम्मका सबै सरकारी निर्णयहरू बदर गरिदिएको हो।

वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासहितले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन बदर, उक्त प्रतिवेदन स्वीकृत गर्ने वन तथा वातावरण मन्त्रालयको निर्णय बदर गर्ने फैसला गरेको सर्वोच्च अदालत गरेको हो।

सर्वोच्चले वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल चाहिएको हो भने अन्तै ठाउँ खोज्न पनि सरकारलाई आदेश पनि दिएको छ।

२४ लाख रुख कटान गरेर वातावरणीय सङ्कट निम्ताउँदै विमानस्थल बनाउन थालिएकाले यसलाई रोक्न भन्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले सर्वोच्चमा रिट दर्ता गरेका थियो।

फैसलाको लिखित रुप आइसकेको छैन । सर्वोच्च स्रोतले भन्यो, ‘अब अहिलेको प्रक्रियाबाट निजगढमा विमानस्थल बन्न सक्दैन।’

तराईको चारकोसे झाडीले भरिएको बाराको निजगढमा करीब २४ लाख सालका साना–ठूला रुख काटेर विमानस्थल बनाउने सरकारको योजना थियो । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्‍मा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा पनि निजगढ विमानस्थल बनाउने प्रस्ताव थियो।

वातावरण संरक्षणका लागि क्रियाशिल व्यक्ति तथा संस्थाहरूले निजगढमा विमानस्थल बनाउँदा त्यसले वातावरण र वन्यजन्तुलाई अपूरणीय क्षति पुर्‍याउने भन्दै यो योजनाको विरोध गर्दै आएका थिए।

सर्वोच्च अदालतको ५ सदस्यीय बृहत पूर्ण इजलासले गरेको निर्णय भएकाले यो आदेशको पुनरावलोकन हुने छैन। सर्वोच्चको यो आदेशसँगै निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रस्ताव अब सँधैका लागि सकिएको छ।

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *