congress chitwan

‘प्रचण्ड विरुद्ध चितवनमा काङ्ग्रेसले उम्मेदवार उठाउने’

National News News

The Mirror

चितवनको असन्तुष्ट समूहले माओवादी अध्यक्ष प्रचण्डविरुद्ध उम्मेदवारी दिने तयारी गरेको छ।

सत्तारुढ पाँचदलीय गठबन्धनले ४ मंसिरको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ भने प्रतिनिधिसभामा चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेदवार बन्ने लगभग पक्का छ।

स्थानीय निर्वाचनमा पनि कांग्रेसले गठबन्धनमा रहेका दलहरुसँग तालमेल गर्दै भरतपुर महानगरपालिकाको मेयर प्रचण्डकी छोरी रेनुलाई समर्थन गरेको थियो।

रेनुविरुद्ध जगन्नाथ पौडेललाई स्वतन्त्र उम्मेदवार बनाएको कांग्रेसको असन्तुष्ट पक्षले प्रतिनिधिसभा पनि उम्मेदवारी बनाउने तयारी गरेको छ।

कांग्रेस पूर्वसभापति सुशील कोइरालाको ८३ औं जन्मजयन्तीका अवसरमा ‘कांग्रेस शुद्धीकरण अभियान’को नामबाट छलफल कार्यक्रम राखेको सो समूहले भदौ २४ गते बीपी जयन्तीको अवसरमा उम्मेदवार घोषणा गर्ने तयारी गरेको जनाएको छ।

कांग्रेसका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाले अरु कोही तयार नभए आफू एक्लै भएपनि चुनावमा उम्मेदवार बन्न तयार रहेको घोषणा गरे।

उनले भने, ‘कांग्रेसका मतदाताले चुनाव चिह्नमा रुखमा मत हाल्न नपाउने अवस्था फेरि आएमा म कांग्रेसका तर्फबाट चुनाव लड्न तयार छु, यसमा तपाईंहरु सबैको साथ रहने नै छ, अहिले सत्ता गठबन्धन ‘काले काले मिलेर भाले खाने गठबन्धन’ भएको छ’।

कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठले कांग्रेस वामपन्थीले दिएको लौरो टेकेर हिँड्नुपर्ने दयनीय अवस्थामा पुगेको टिप्पणी गरे।

नेता श्रेष्ठले भने, ‘कांग्रेसलाई बलियो बनाउन कुनै पनि कदम चाल्न पछि हट्दैनौं, भोलि पनि उठ्छौं’।

भरतपुरको मेयरमा बागी उम्मेदवार बनेका पूर्वसांसद जगन्नाथ पौडेलले गठबन्धनका नाममा चितवनमा कहिलेसम्म माओवादीलाई बोकेर हिँड्नुपर्ने भनी प्रश्न गरे।

उनले आफूहरु माथि अपमानित र थिचोमिचो भएकोले जिल्लाभर यसको प्रतिवाद हुने बताए तरुण दल चितवनका पूर्वअध्यक्ष शम्भु अर्यालले कांग्रेसको जिल्ला नेतृत्व पैसा र लोभलालसामा फसेको टिप्पणी गरे।

कार्यक्रममा कांग्रेस नेता मीना खरेलले अहिलेको सत्ता गठबन्धन लोकतन्त्रको मर्म भन्दा बाहिर भएको टिप्पणी गरिन्।

उनले भनिन, ‘अहिलेको यो गठबन्धन कांग्रेसको विधान, संविधानको मर्म र जनताको भावनाभन्दा बाहिर गएर सत्ता स्वार्थमा लिप्छ छ, पाँच बर्षसम्म कांग्रेस भनेर बस्ने, तर भोट चाँहिँ माओवादीको हसिँया हथौडामा हाल्नुपर्ने रु यो दुर्भाग्य कहिलेसम्म’।

[ref-devisthannews]

अन्तमा यो पनि पढ्नुहोस….

Leave a Reply

Your email address will not be published. Required fields are marked *