balewa airport

‘बाग्लुंगको बलेवा एयरपोर्ट सम्पन्न, नियमित सञ्चालन कहिले देखी?’

National News News

The Mirror

नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको परामर्शदाता समूहले आइतबार बागलुङको बलेवा विमानस्थलको अबलोकन गर्यो।

भर्खर कालोपत्र भएर चिटिक्क र सुन्दर पारिएको धावनमार्ग, टावर र भौतिक पूर्वाधारको अवस्था राम्रो देखेपछि अध्ययन समूहले विमानस्थल सञ्चालनका लागि तयारी अवस्थामा रहेको सुरुआती निचोड निकालेको छ।

यसको सञ्चालनबारे बागलुङ नगरपालिकाद्वारा आयोजित छलफल कार्यक्रममा परामर्शदाता समूहका प्रमुख जनकराज शाहले टावर नियन्त्रण गर्ने कर्मचारी, विमान कम्पनी र यात्रु भएमा जनुसुकै बेला विमानस्थल सञ्चालनमा आउन सक्ने बताए।

सरकारको आगामी आर्थिक बर्षको बजेटमा पनि बलेवा विमानस्थललाई स्तरोन्नति गरी सञ्चालनमा ल्याइने उल्लेख छ। बन्द भएको २६ वर्षपछि विसं २०७४ चैत ९ गतेदेखि बलेवा विमानस्थल सञ्चालनमा ल्याइएको थियो।

बागलुङको मालढुङ्गादेखि विमानस्थल जोड्ने कालीगण्डकी करिडोरको १३ किमि सडक अहिले पनि कच्ची छ। वर्षातका बेला उक्त सडकको यात्रा झन् जोखिमपूर्ण बन्ने गरेको छ। सरकारले सो खण्ड कालोपत्रका लागि ठेक्का प्रक्रियामा लगेपनि काम सकिन केही वर्ष लाग्ने देखिएको छ।

नेपाल र तारा एयरलाइन्सको टुइनअटर विमानले हप्ताको दुई दिन उडान गर्थे। १९ सिट क्षमताका जहाजमा १२ भन्दा कम यात्रु भए बागलुङ नगरले भार व्यहोर्ने गरी नागरिक उड्ययन प्राधिकरण, विमान कम्पनी र नगरबीच सम्झौता भएको थियो।

केही महिनापछि यात्रु पनि घट्ने र नगरलाई आर्थिक बोझ पनि थपिँदै गएपछि विमान सेवा बन्द हुन पुगेको थियो। विमान कम्पनीले सुरुमै बागलुङ–काठमाडौँको भाडादर रु छ हजार ५०० तोकेपछि यात्रुले पनि महँगो भएको गुनासो त्यसबेला गरेका थिए।

balewa airport

विसं २०४८ मा बन्द भएको विमानस्थल २६ वर्षपछि सञ्चालनमा आएपनि त्यसले निरन्तरता पाउन सकेन। विसं २०२२ मा बनेको विमानस्थल पोखरा–बागलुङ सडक बनेपछि बन्द भएको थियो। सडक आउनुअघि बलेवादेखि पोखरा, काठमाडौँ, भैरहवा र भरतपुरसम्म विमान सञ्चालनमा थिए।

यात्रुको आउजाउ र सामान ढुवानीका लागि विमान प्रयोग हुन्थ्यो। पूर्वाधारका दृष्टिले विमानस्थल पहिलेभन्दा अहिले धेरै सम्पन्न छ। विमानस्थलको सात सय मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग कालोपत्र भइसकेको छ। अब विमानस्थल नियमित चल्छ की भन्ने आशमा स्थानीय छन् तर विमानस्थल कहिले सञ्चालनमा आउँछ कुनै टुंगो छैन।

[ref-setopati]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *