nepali congress

भरतपुर कांग्रेसमा चरम असन्तुस्टी र तिब्र आक्रोश, कार्यालय दिउसै सुनसान

National News News

The Mirror Desk

सत्तारुढ गठबन्धनको मुख्य गाँठो भरतपुर महानगरमा पर्ने भएको छ। किनभने नेपाली कांग्रेस र माओवादी केन्द्र दुवैले यहाँ मेयरमा आफ्नो आफ्नो दाबी गरेका छन। केन्द्रीय तहमै रस्साकसी चल्दा प्रमुख कसको पोल्टामा पर्ने भन्ने प्रश्न पेचिलो बन्दै गएको छ।

गत चुनावमा माओवादीलाई प्रमुख दिएकाले यसपालि आफूहरूले पाउनुपर्ने माग काँग्रेसको छ। यसको लागि कांग्रेसले जिल्लादेखि वडा र टोलसम्म अभियान नै चलाएको छ। कार्यकर्ताले घरदैलोमा पुगेर मत माग्न थालिसकेका बेला कांग्रेस केन्द्रीय समितिले यसलाई कसरी टुंगो लगाउला भन्ने चासो भरतपुरमा मात्रै होइन, देशैभरि छ।

प्रतिस्पर्धी दल उम्मेदवारसहित अघि बढिसक्दा गठबन्धनबाट भरतपुरमा प्रमुख कसले पाउँछ भन्ने विषय नटुंगिएकाले कांग्रेस र माओवादी चुनावी अभियानमा पछाडि परेका छन् । ‘हाम्रो प्रमुख सर्त नै भरतपुर महानगरपालिकाको प्रमुख हो, महानगरमा प्रमुख हामीले पाउने हो भने चितवनका बाँकी पालिकामा मतभारलाई आधार बनाएर चुनावी तालमेल गर्न कुनै गाह्रो छैन,’ सोमबार कांग्रेस चितवनको नारायणगढ कमलनगरस्थित जिल्ला पार्टी कार्यालयमा भेटिएका जिल्ला सचिव सूर्य अर्यालले भने । केही दिनअघि जिल्ला समितिले राखेको बृहत् भेलाले पनि यही निर्णय गरिसकेको छ ।

जिल्ला नेताहरूले केन्द्रीय नेतृत्वलाई भेटेर आफ्ना माग प्रस्ट रूपमा राखेर चितवन फर्किएको पनि लामो समय भयो। महानगरका २९ वटै वडा कमिटीका सभापतिहरूको भेलाले समेत गठबन्धन गर्दा प्रमुख नछाड्न भन्दै जिल्ला नेतृत्वलाई ज्ञापनपत्र बुझाएको छ। तैपनि केन्द्रबाट तालमेलको विषयमा निर्णय नआउँदा कांग्रेस समर्थकको आक्रोश वडा र टोल–टोलमा पुगेको छ।

टेकप्रसाद गुरुङ पनि अहिले पार्टीको केन्द्रीय सदस्य हुन। गुरुङ र कोइरालाले प्रमुख पद पार्टीले माओवादीलाई दिए विद्रोह हुन सक्ने चेतावनी दिएका छन। जिल्लाका अर्का पाका नेता कृष्णलाल सापकोटाले पनि पार्टीले प्रमुख पद छाडे स्वतन्त्र उम्मेदवारी दिने सार्वजनिक घोषणा गरेका छन।

चुनावी माहोलले छपक्कै छोपिसक्दा पनि कांग्रेसको कमलनगरस्थित कार्यालयमा खासै चहलपहल छैन । ‘अहिले चुनाव लागिसकेको छ, धेरै साथी लबिइङमा हुनुहुन्छ, त्यसैले पार्टी कार्यालयमा यो बेला अलि कम भीडभाड छ,’ सचिव अर्यालले भने । कम चहलपहलका बीचमा पनि भरतपुर महानगरपालिका–२९ को कांग्रेस वडा समितिका सभापति कार्यालयमा भेटिए । उनको हातमा पत्र थियो । त्यो पत्र उनले जिल्ला कार्यालयमा दर्ता गराए । ‘यो पत्रमा हामीले मेयरकै विषयमा त केही बोलेका छैनौं तर वडामा कुनै गठबन्धन नगरियोस्, त्यहाँ हामी एकल रूपमै चुनाव लड्छौं भनेर आज निर्णय गर्‍यौं, त्यही जानकारी दिन पत्र लिएर आएका हौं,’ वडा सभापति निरबहादुर गुरुङले भने । जिल्ला कार्यालयमा अहिले यस्ता पत्र लिएर आउनेहरू बढ्न थालेका छन् ।

माओवादी केन्द्रका चितवन जिल्ला संयोजन समितिका संयोजक रामचन्द्र अधिकारी गठबन्धन गराएर चुनाव लड्दै गर्दा भरतपुरमा माओवादीको दाबी स्वाभाविक रहेको बताउँछन् । ‘प्रतिगमनविरोधी राष्ट्रिय गठबन्धनको मूर्त रूपमा स्थानीय चुनावमा हुने तालमेल हो, भरतपुरमा हाम्रो दाबी स्वाभाविक छ किनकि यहाँ प्रमुख जितेर हामीले जनताले मत दिने गरेर काम गरेका छौं,’ अधिकारीले भने ।

चितवनको नारायणगढ, कमलनगरस्थित कांग्रेस कार्यालयमा सोमबार दिउँसो सुनसान देखिएको जिल्ला सभापति, उपसभापति लगायतको कार्यकक्ष तस्बिर:-कान्तिपुर

भरतपुरमा तुलनात्मक रूपमा माओवादीको अवस्था कमजोर छ । २९ वटा वडा रहेको महानगरमा अघिल्लो स्थानीय तह निर्वाचनमा प्रमुख–उपप्रमुख गुमाए पनि एमालेले सबैभन्दा धेरै १४ वटा बडामा अध्यक्ष जितेको थियो । कांग्रेसले १२ वटा वडामा अध्यक्ष जितेको थियो । माओवादीले तीनवटा वडामा मात्रै अध्यक्ष जितेको थियो । पछि उपनिर्वाचन हुँदा एमालेले जितेको वडामा कांग्रेस विजयी भएको थियो । ‘०४० सालमा जन्मेको व्यक्ति ४० वर्षको हुँदै छ, उसले ०५४ सालको स्थानीय निर्वाचनमा भोट हाल्ने कुरा भएन, त्यो व्यक्ति कांग्रेस थियो भने ०७४ को स्थानीय चुनावमा प्रमुखमा आफ्नो पार्टीको चिह्नमा भोट हाल्न पाएन । अब अहिले पनि हाल्न नपाए त पार्टीले भनेको ठाउँमा मात्रै मत राख्छ भन्ने छैन । यस्ता मतदाता धेरै छन्,’ कांग्रेसका जिल्ला सचिव अर्यालले भने । कांग्रेस नेताहरूले प्रमुख नदिए निर्वाचन परिणामको जिम्मा लिन नसक्ने बताउन थालेका छन् ।[यो समाचार कान्तिपुरमा छापिएको छ]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *