prachanda and nepal

‘माओवादी र एकीकृत समाजवादी बीच छिट्टै एकता’

National News News

The Mirror

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावअघि नै पार्टी एकता गर्ने तयारी गरेका छन।

पछिल्लो समय माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुबीच चुनावअघि नै पार्टी एकता गर्ने विषयमा छलफल भइरहेको र छलफल निकै सकारात्मक रहेको दुवै पार्टीका नेताहरुले बताएका छन।

यसअघि उनीहरुले कांग्रेस बाहेक सत्ता गठबन्धनमा रहेका दलहरुले छुट्टै गठबन्धन बनाउने विषयमा कुराकानी अघि बढाएका थिए। अहिले उनीहरुको संवाद चुनावअघि कम्तीमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकता गरेर अघि बढ्ने बिषयमा केन्द्रित छ।

सातदोबाटोस्थित एक घरमा भएको तत्कालिन नेकपाका पाँच जना सचिवालय सदस्यहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेता झलनाथ खनाल र भर्खरै नेकपा एकता राष्ट्रिय अभियान खोलेर त्यसको संयोजक बनेका वामदेव गौमतबीच छलफल भएको थियो।

उक्त भेटमा चुनाव अघि दुई पार्टीको एकता गर्ने विषयमा गम्भीर छलफल भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए।

श्रेष्ठले भने, ‘छलफलमा सकेसम्म चुनावअघि नै दुई पार्टीबीच एकता गर्ने, एकता सम्भव भएन भने संयोजन समिति बनाएर अघि बढ्ने भन्ने कुरा भएको छ’।

माओवादी केन्द्र र एकीकृत समाजवादी नेपाली कांग्रेसले सत्तारुढ गठबन्धनलाई कसरी अघि बढाउन चाहन्छ भन्नेबारेमा पहिल्यै निर्क्योल गर्नुपर्नेमा एकमत छन।

स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने भनेर नेपाली कांग्रेसले अन्तिममा केही ठाउँमा मात्रै गठबन्धन गरेको र त्यसले आफूहरुलाई घाटा भएको उनिहरुको निष्कर्ष छ।

उनीहरुले एमालेसँग भने कम्तीमा यस वर्ष हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन या एकता दुबै नहुने निचोड निकालेका छन।

श्रेष्ठले भने, ‘एमालेसँग चुनावअघि नै तालमेल हुने संभावना छैन, ऊ आत्माआलोचित भएको छैन, निर्वाचनको सन्दर्भमा पनि सही ढंगले तालमेलमा जान्छ भन्ने देखिएको छैन’।

यसअघि आइतबार सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट एकताको संभावनाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले एमाले बाहेकका कम्युनिष्ट पार्टीहरुबीचको एकताको संभावनाबारे प्रतिवेदनमा उल्लेख गरेका छन।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठकले समेत अहिले एमालेसँग चुनावी तालमेलको संभावना नरहेको बताइसकेको छ।

यी दुवै पार्टीले आफ्नो अस्तित्व बचाउनका लागि भएपनि पार्टी एकता गरेर चुनाबमा जानु पर्ने निस्कर्ष निकालेका छन्।

[ref-onlinekhabar]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *