The Mirror
एमाले सचिव योगेश भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई अब संन्यास लिएर बस्न सुझाव दिएका छन।
प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले अध्यक्ष नेपाल राजनीति र जीवन दुवैको उत्तरार्द्धमा रहेकाले संन्यास लिएर बस्दा राम्रो हुने बताए।
केही दिनअघि अध्यक्ष नेपालले आफूहरूलाई ‘१० भाइ एमालेका दास हौ; तिमीहरूले हाम्रो खैरो खन्छौ’ भन्ने भाषण गरेकोप्रति भट्टराईले माधव नेपाल जस्तो नेताले सम्हालिएर बोल्नुपर्ने बताए।
अध्यक्ष नेपाल राजनीतिबाट नै अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भन्दै धुलो उडाउनुको तुक नरहेको पनि स्पष्ट पारे। भट्टराईले आफूले गरेका गल्तीहरूलाई आत्मसात् गर्दै नयाँ पुस्तालाई राजनीति, पार्टी, मुलुक सुम्पिएर आफू आनन्दले बस्नु पर्ने पनि बताए।
उनले भने, ‘मुख छाड्दै हिँड्ने हो भने आफूलाई पनि त्यो भन्दा धेरै मुख छाड्न आउछ’।
सांसद भट्टराईले भने, ‘माधव नेपालजस्तो शीर्ष नेता‚ त्यो ढंगले बोल्ने कुरा मलाई त्यति ठिक लाग्दैन, उहाँ सम्हालिनु पर्छ, अर्को कुरा उहाँ जीवनको उत्तरार्द्धमा हुनुहुन्छ, राजनीतिको पनि उत्तरार्द्धमा हुनुहुन्छ, उहाँका बारेमा धेरै टिप्पणी किन गर्नु, उहाँको आगामी अवकाशको जीवन राम्रो बितोस्’।
भट्टराईले भने, ‘असम्भव कुरामा दौडिने नभई आफ्ना गल्तीहरूलाई रिलाइजेसन गरेर अब नयाँ पुस्तालाई राजनीति सुम्पिएर आफू आनन्दले बस्ने, संन्यासी मान्छेले मुख छाड्दै हिँड्दैनन, अब माधव नेपाल पनि संन्यासी भएर बस्ने हो; मुख छाड्दै हिँड्ने होइन’।
सांसद भट्टराईले नेकपा एमालेको विभाजनको औचित्य कहिल्यै नरहेको भन्दै विभाजित भएर जानेहरुले आत्मबोध गरेर आए पार्टीमा स्वागत गर्ने पनि बताए। उनले यदि समाजवादीका नेताहरुले एमालेले शर्त माने एकता हुने कुरा गर्नुको तुक नरहेको स्पष्ट परे।
[ref-ekantipur]
अन्तमा यो पनि…