The Mirror
रुसले महिनौँदेखि युक्रेनी बन्दरगाह सहर मारिऊपोलमाथि विजय हासिल गर्ने आफ्नो प्रयास सफल भएको दाबी गरेको छ।
उसले त्यहाँ रहेको आजोभ्स्टाल स्टील उद्योगको रक्षा गरिरहेका बाँकी सैनिकहरूले आत्मसमर्पण गरेको जनाएको छ।
महिनौँसम्म उक्त विशाल औद्योगिक क्षेत्रमा रहेका युक्रेनी लडाकुहरूले रुसलाई सो सहरमाथि पूर्ण रूपमा नियन्त्रण कायम गर्न रोकिरहेका थिए।
शुक्रवार युक्रेनी फौज पछि हटेसँगै मारिऊपोलमा ठूलो क्षति हुनेगरी भएको सबैभन्दा डरलाग्दो घेराबन्दी पनि समाप्त भएको छ।
रुसी रक्षा मन्त्रालयका अनुसार ५३१ युक्रेनी लडाकुहरू त्यहाँबाट हटेपछि मारिऊपोल र सो स्टील उद्योग “अहिले पूर्णतः मुक्त” भएका छन।
एउटा विज्ञप्तिमा रुस सरकारले भनेको छ, ‘लडाकुहरू लुकिरहेको उक्त उद्योगका भूमिगत क्षेत्रहरू पनि रुसी सशस्त्र बलको पूर्ण नियन्त्रणमा आएको छ’।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यहाँ खटेका अन्तिम सुरक्षाकर्मीहरूलाई उक्त स्थान छाड्न आदेश दिइएको बताए।
शुक्रवार एउटा टेलिभिजन च्यानलसँग कुरा गर्दै उनले भने, “आज सैनिक कमान्डबाट उनीहरूलाई स्पष्ट सन्देश दिइयो कि उनीहरूले त्यहाँबाट बाहिर निस्किन र आफ्नो ज्यान जोगाउन सक्छन्।”
रुसी सैनिकहरूले त्यस क्षेत्रमा सबै मानवीय सहायतालाई अवरोध पुर्याउँदै त्यहाँ गोलाबारी गर्दै आएका थिए। उनीहरूले त्यहाँ सुरक्षार्थ खटिएका युक्रेनी फौजलाई आत्मसमर्पण गर्न भनिरहेका थिए।
उक्त क्षेत्रमा फस्नेमध्ये कैयौँ गैरसैनिक नागरिक थिए। तीमध्ये महिला, बालबालिका र ज्येष्ठ नागरिक पनि पर्छन्।
यसै महिना हप्तौँसम्म राष्ट्रसङ्घ र रेडक्रसको संयोजनमा चलेको कठिन वार्तापछि उनीहरूलाई उद्धार गरिएको थियो।
तर युक्रेनी सुरक्षाफौजका सदस्यले आत्मसमर्पण गर्न नमान्दा रुसले उक्त रणनीतिक बन्दरगाह सहरमा पूर्ण नियन्त्रण भने कायम गर्न सकेको थिएन।
धेरै युक्रेनीहरूले आजोभ्स्टालमा खटिएका रक्षकहरूलाई रुसी आक्रमणको सशक्त सामना गरिरहेका “राष्ट्रनायक”का रूपमा लिएका थिए।
मस्कोका अधिकारीहरूका अनुसार शुक्रवार समेत २,४३९ युक्रेनी सैनिकहरूले उक्त स्टील उद्योग परिसरबाट हालैका दिनमा आत्मसमर्पण गरेका थिए।
मस्कोले शुक्रवार बाहिरिएका सैनिकहरूलाई कहाँ लगियो भन्ने खुलाएको छैन। तर विगतमा बसहरूलाई रुसी नियन्त्रणमा रहेका क्षेत्रहरूमा पठाइएको थियो।
रुसी रक्षा मन्त्रालयले सार्वजनिक गरेको भिडिओमा सो उद्योगबाहिर निरस्त्र पुरुषहरू लाम लागेर रुसी सैनिकहरूतर्फ गएको र आफ्नो नाम भनिरहेको जस्तो देखिन्छ। यद्यपि बीबीसीले उक्त भिडिओको आधिकारितका पुष्टि गर्न सकेको छैन।
त्यसपछि रुसी सैनिकहरूले प्रत्येक व्यक्ति र उनीहरूका सामनलाई ध्यानपूर्वक खानतलासी गरेको देखाइएको छ।
युक्रेनी अधिकारीहरूले उनीहरूलाई बन्दी साटासाट गर्दा रिहा गरिने अपेक्षा गरेका छन्। तर त्यसबारे मस्कोले केही भनिसकेको छैन।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती सैनिकहरूलाई ‘सम्बन्धित अन्तर्राष्ट्रिय कानुनअनुरूप’ व्यवहार गरिने बताएका छन्। तर उनीहरूलाई रुसी हिरासतमा नै राखियो भने के हुन्छ भन्ने चिन्ताहरू व्यक्त भएका छन्।
मङ्गलवार रुसी सांसदहरूले आजोभ रेजिमेन्टका लडाकुहरूलाई “नाजी अपराधी” को सङ्ज्ञा दिनुपर्ने माग अघि सारेका थिए।

उनीहरूका अनुसार उक्त समूहका सैनिकहरूलाई युक्रेनसँगको बन्दी साटासाटमा पार्नु हुँदैन।
आजोभ रेजिमेन्टलाई सन् २०२१ मा स्वयंसेवी लडाकु समूहका रूपमा स्थापना गरिएको थियो। हाल न्यान्शनल गार्ड यूनिटमा रूपान्तरित उक्त समूहको कुनै बेला उग्र दक्षिणपन्थीहरूसँग सम्बन्ध थियो।
यसैबीच रुसका महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतलाई सो सैन्य एकाइलाई “आतङ्कवादी सङ्गठन” का रूपमा घोषणा गर्न माग गरेको छ।
सो एकाइका लडाकुहरूलाई युद्धबन्दीका रूपमा व्यवहार गर्नबाट वञ्चित गर्नका लागि त्यस्तो गरिएको हुनसक्ने ठानिएको छ।[यो समाचार बिबिसीमा छापिएको छ]
अन्तमा यो पनि…