The Mirror
राजधानीका पाँच ठाउँमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
बर्खायाममा अस्पताल भर्ना हुने झाडापखालाका बिरामी बढिरहँदा हैजाका बिरामी पनि फेला परेको महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताए।
डा. दासले भने, ‘शुरूमा काठमाडौँको बागबजारमा दुईजना बिरामी फेला परे, धेरै सिकिस्त भएकोले आईसीयूमै भर्ना गर्नुपर्यो, तर अहिले जेनरल वार्डमा सारिएको छ’।
त्यसबाहेक काठमाण्डूकै डिल्लीबजार, बोहोराटार, कपन र ललितपुरको सानेपामा हैजाका एक/एकजना बिरामी भेटिएका छन।
डा. दासका अनुसार भर्ना भएका हैजाका बिरामीहरू १८ वर्षदेखि ५५ वर्षका रहेका छन।
हैजा कसरी फैलियो?
फेला पारिएका सबै बिरामीले खाने गरेको पानीको नमुना सङ्कलन गरी जाँच गर्दा झाडा पखाला गराउने जीवाणु पाइएका छन।
घरमा धारा र ट्युबवेलको पानी जम्मा गरि सीधै नउमाली अथवा पानी शुद्धीकरण गर्ने कुनै विधि नअपनाई पिउदा यस्तो समास्य उब्जिएको डा दासले बताए।
उनले भने, ‘सबै बिरामीको हकमा हैजाको कारण दूषित पानी भएको देखियो, दूषित कहाँ भयो भन्ने कुरा पत्ता लगाउन हामी लागिपरेका छौँ’।
नियन्त्रणका लागि के के भैरहेको छ?
हैजा पुष्टि भएसँगै कारण पत्ता लगाउन एवं रोकथाम तथा नियन्त्रणबारे सुझाव दिन जिल्ला जनस्वास्थ्य कार्यालय काठमाण्डूले छानबिन टोली गठन गरेको छ।
छ सदस्यीय टोलीले काम पनि थालिसकेको त्यसका संयोजक तथा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाण्डूका प्रमुख वसन्त अधिकारीले बताए।
अधिकारीले भने, ‘प्रारम्भिक नतिजा हेर्दा हैजा पुष्टि भएका बिरामीहरूले खानयोग्य पानी नखाएको पाइएको छ, हामीले पानीका थप नमुना लिने काम पनि गरिरहेका छौँ’।
उनले भने, ‘अस्पतालले रिपोर्ट गर्नेबाहेक ठूला अस्पताल तथा स्वास्थ्य चौकीमा आफैँ पुगेर अनि नगएको दिन फोनमार्फत् निगरानी गर्ने काम एप्रिलदेखि नै गरिरहेका छौँ, अहिले हामी थप चनाखो भएका छौँ’।
हैजाका लक्षण
डा. दासका अनुसार बिरामीअनुसार सामान्यतया दुई घण्टादेखि पाँच दिनभित्र हैजाका लक्षण देखिने गर्छ।
यद्यपि कसैकसैलाई लक्षण नदेखिन सक्ने पनि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाण्डूका प्रमुख अधिकारी बताउँछन्।
अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल सीडीसीका अनुसार हरेक १० जनामध्ये एकजना बिरामीमा हैजाको गम्भीर लक्षण देखिन सक्छ।
केही लक्षण यस प्रकारका छन्:
पातलो दिसा हुने
बान्ता हुने
तिर्खा लागिरहने
खुट्टा बाउँडिने
थकान लाग्ने वा चिढिने
चिकित्सकका सुझाव
खानेपानी तथा सरसफाइमा ध्यान दिए हैजाबाट जोगिन सक्ने चिकित्सकहरू बताउँछन्।
विशेषगरी हामीले पिउने पानीमा ध्यान पुर्याउनुपर्ने डा. दासको सुझाव छ।
“क्लोरीन हालेर पानी शुद्ध पार्न सकिन्छ अथवा पानी राम्ररी उमालेर पिउँदा पनि हुन्छ। अर्का कुरा हात पनि राम्ररी धुने गर्नुपर्छ,” उनले थपे।
झिँगाले पनि सार्न सक्ने भएकोले खानेकुरालाई राम्ररी छोपेर राख्न उनी सुझाउँछन्।
हैजाको लक्षण देखिएपछि अस्पताल जान अथवा चिकित्सकलाई देखाउन ढिलाइ गर्न नहुने तथा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाण्डूका प्रमुख अधिकारी बताउँछन्।
“जलवियोजन भएर बिरामीको ज्यान पनि जान सक्ने भएकोले उपचार गराउने कुरामा अल्छी गर्नु हुँदैन,” उनले सचेत गराए।
अनुसन्धानकर्ताहरूका अनुसार विश्वभरि बर्सेनि १३ लाखदेखि ४० लाख मानिसलाई हैजा हुन्छ र २१,००० देखि १,४३,००० मानिसको मृत्यु हुने गरेको आकलन गरिएको छ।
[ref-bbc]
अन्तमा यो पनि…